हराएको ७७ हजार रुपैयाँ र मोबाइल फिर्ता पाएपछि…
विराटनगर । भारतको जोगबनीबाट फर्कने क्रममा एक जना वृद्धले सिटी सफारीमै बिर्सिएर छाडेको नगद, मोबाइल फोन र कागजपत्र प्रहरीले फेला पारेर फिर्ता गरिदिएको छ ।
विराटनगर-५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्याय जोगवनीबाट प्रदेश १-००२ ह ३९३० नम्बरको सीटी सफारीमा आइतबार विराटनगर आएका थिए । उनी रामजानकी चोकमा ओर्लिएका थिए ।
आफूमात्रै ओर्लिए, झोला सिटीमै बिर्सिए । त्यसमा ७७ हजार ५ सय रुपैयाँ, मोबाइल फोन र केही महत्वपूर्ण कागजपत्र थियो । ओर्लिएको केही बेरपछि झल्याँस्स भए । सुरुमा आफैंले उक्त सिटी खोजे तर फेला पारेनन् ।
त्यसपछि उनले प्रहरी गुहारे । विवरण उल्लेख गर्दै उनले खोजीका लागि निवेदन दिए । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले खोजी सुरु गर्यो । टोलीले सिसी क्यामेरा फुटेज समेत हेरेर अनुसन्धान अघि बढायो ।
त्यस क्रममा उपाध्याय चढेको सिटी सफारीबारे पत्ता लाग्यो । प्रहरी टोली विराटनगर–६ का २७ वर्षीय हरिश साहकोमा पुग्यो । उनी उपाध्याय चढेको सिटी सफारीका चालक हुन् ।
साहलाई जिल्ला प्रहरी कार्यालय ल्याएर उनीबाट प्रहरीले उपाध्यायको हराएको झोला फिर्ता लियो । त्यसपछि उपाध्यायलाई फिर्ता गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
प्रहरीले चालकलाई सम्झाइबुझाइ गरेको जनाएको छ । उपाध्यायले आफ्नो हराएको सामान फिर्ता पाएकामा खुसी व्यक्त गरे । हराएको आफ्नो झोला भेटिएला भन्ने नलागेको उल्लेख गर्दै उनले प्रहरीलाई धन्यवाद दिए ।
