सप्तकोसी : उदयपुर प्रशासनद्वारा जोखिम क्षेत्र अनुगमन
विराटनगर। लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरस्थित प्रहरी प्रशासनको टोलीले आज सोमबार नदीको तटीय क्षेत्रमा पर्ने जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन गरेको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा बेलका नगरपालिकाका पदाधिकारीसहितको टोलीले यो निरीक्षण गरेको हो। बेलका नगरपालिकाका वडा नम्बर २, ३, ८ र ९ हरेक वर्ष सप्तकोसी नदीको उच्च जोखिममा पर्दै आएका छन्। विगत सात वर्षदेखि कोसी नदीले आफ्नो धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दै आएकाले यी बस्तीहरू बाढीको जोखिममा छन्।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लुइँटेल, प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगी, प्रमुख सेनानी मनोज कार्की, बेलका नगरपालिकाका उपप्रमुख जिरा राई र प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायतका अधिकारीहरू सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले नदीको बहाव बढेर बस्तीमा पानी पस्ने खतरा देखिएमा तत्काल उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।
यसैबीच, बेलका नगरपालिकाले बस्तीमा बाढी पस्न नदिन विगतमा ठेक्का सम्झौता भएका नदी नियन्त्रणका कामहरूलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
* * *
