बाढीपहिरोले पूर्वका विभिन्न सडक अवरुद्ध
पाँचथरको हेवाखोलामा बाढी आएर डाइभर्सनमा क्षति पुर्याएपछि सम्भावित जोखिमको अवस्था बुझ्दै प्रहरी टोली। तस्बिरः अजेन्द्र वाइबा तामाङ
विराटनगर। शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण पूर्वका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोका कारण इलाम, पाँचथरलगायत जिल्लामा सडक अवरुद्ध बनेका छन्।
इलामको सन्दकपुर–३ सुलुबुङ र वडा ५ जोड्ने पुलमा पहिरो झरेर अवरोध भएको स्थानीय प्रतिभा पौडेलले जानकारी दिइन्। पहिरोका कारण आसपास क्षेत्रमा पनि गेग्र्यान झरेको छ।
पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन्। मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार हेवाखोलामा डाइभर्सनको तह पार गरेर धमिलो पानी बगिरहेका कारण यातायात ठप्प भएको हो। यो खोलाको पुल पटकपटकको बाढीले बगाएपछि तीन वर्षदेखि यहाँ डाइभर्सनको भरमा यातायात वारपार गराइँदै आएको छ।
तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीका कारण त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ भने ठाउँठाउँमा गएको पहिरोका कारण राँके–रवि ६ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि ठप्प भएको छ।
यसैगरी, मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको छ।
पाँचथरकै फिदिमदेखि भारतसँगको सीमावर्ती फालौटलाई जोडने फिदिम–याङनाम–फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ। जसका कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन्।
जोखिम यथावत्
साँझदेखि जारी वर्षा बिहान पनि रोकिएको छैन। ठाउँठाउँमा आरिघोप्टे वर्षा भइरहेका कारण पहिरोको जोखिम यथावत् रहेकाले जिल्ला प्रशासन कार्यालय पाँचथरले सचेत रहन सर्वसाधारणलाई सूचना मार्फत आहृवान गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिन पूर्वका जिल्ला, मधेश प्रदेश र देशको पश्चिमी भेगमा धेरै वर्षा हुन सक्ने अनुमान छ। सुनसरी, मोरङ, झापालगायत जिल्लाका नदी, खोलामा जलसतह बढिरहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
