आगामी ३ दिन देशभर भारी वर्षाको सम्भावना
कोशी ब्यारेज
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा हुने सम्भावना रहेकाले सबै जलविद्युत आयोजनाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले नदीहरूमा पानीको सतह सतर्कता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेपछि इप्पानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो आग्रह गरेको हो।
साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा भारी बाढी आउन सक्ने सम्भावना छ। कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्नेछ।
४ गते बेलुकादेखि बागमती नदीमा बाढी आउने सम्भावना छ, जसले काठमाडौँ उपत्यका र तल्लो तटीय क्षेत्रलाई प्रभावित गर्नेछ। यस प्रणालीले बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरूलाई पनि असर गर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ।
राप्ती र बबई क्षेत्रमा मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ। महाकाली नदी र त्यसको तटीय क्षेत्रमा भने साउन ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म बढी सतर्कता अपनाउनु आवश्यक छ।
इप्पानको आग्रह र पूर्वतयारीका लागि सुझावहरू:
इप्पानले जल तथा मौसम विज्ञान विभागसँगको बाढी पूर्वसूचना आदानप्रदान सम्झौताअनुसार यो जानकारी सार्वजनिक गरेको हो। इप्पानले निर्माणाधीन तथा सञ्चालनमा रहेका सबै जलविद्युत आयोजनाहरूलाई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्व तयारीका कामहरू अगाडि बढाउन अनुरोध गरेको छ।
गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनाहरूमा पुर्याएको क्षतिको साथै विगतका घटनाहरूलाई स्मरण गर्दै इप्पानले यस्ता घटना दोहोरिन नदिन आग्रह गरेको छ।
आयोजनाका प्रवर्द्धकहरूलाई सबैभन्दा पहिला मानवीय क्षति हुन नदिन आग्रह गरिएको छ। नदी करिडोरका माथिल्लो भागमा निर्माण भएका आयोजनाहरूले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रका आयोजनाहरूलाई समयमै बाढीको सूचना दिन र आवश्यक परेमा नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराई आयोजनाका गेटहरू बन्द गरी सुरक्षित स्थानमा जान सहकार्य गर्न आग्रह गरिएको छ।
मौसम विज्ञान विभागका गेज स्टेसनमा बस्ने कर्मचारीहरूसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानीय बासिन्दाहरूको जिउधनको सुरक्षाका लागि स्थानीय स्तरमा सूचना आदानप्रदान गर्न पनि आग्रह गरिएको छ। इप्पानले पूर्वतयारी गर्दागर्दै पनि मानवीय वा भौतिक क्षति भएमा सोको जानकारी इप्पानमा गराउन पनि विज्ञप्तिमा अनुरोध गरेको छ।
