चिताग्नीको रापमा पग्लिने देउवाको मन

यो पङ्क्तिकारले कतै पढेको या सुनेको थियो— शवयात्रामा सहभागी भएर घाट पुगेपछि दागबत्तीले चिता सल्किएर दनदनाएको चिताग्नी हेरिरहँदा जोकसैका मनमा केही बेर मात्रै भए पनि वैराग्य पलाउँछ। वैराग्य मानिसको चेतनाको एउटा विशिष्ट आयाम हो। यसले मानिसलाई प्रकृतिको नजिक पुऱ्याउँछ। उसलाई जीवन के हो भनेर सोच्न बाध्य पार्दछ। ऊ जीवको सार केलाउन थाल्छ। यस क्रममा कोही सांसारिक बन्धनबाट अलग भएर जङ्गलतिर लाग्छन्, गुफा पस्छन्। कोही सत्कर्म गर्नतिर लाग्दछन्।

वृद्धावस्था, रोग, मृत्यु र सन्यास देखेर बुद्धले दरबार त्यागे। घाँसीको कुवा देखेर भानुभक्त रामायण लेख्नतिर लागे। सामान्य नेपाली जनको गरिबी देखेर कृष्णप्रसाद राजनीतिमा लागे। मुलुकको दुर्गति देखेर महावीर पुन राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गरिरहेका छन्। त्यसका लागि स्रोत जुटाउन उनले पाएका पदक बिक्रीमा राखेका छन्। आत्मकथा लेखेर घर-गाउँ घुमी-घुमी बिक्री गर्दैछन्। विदेशमा सिकेको सीप र पसिनासित साटेको केही रकम लिएर दुर्गम गाउँमा उद्यम थाल्ने कति छन् तिनको हिसाब छैन। कोही त पशु सेवामा समेत समर्पित छन्।

चेतना मानिस जातिको परिचय हो। यसैले मानिस र अन्य प्राणीबीचको पार्थक्यलाई दर्शाउँछ। मानिस हुनु भनेको आफूलाई जे जस्तो चाहना, अनुभूति, अनुराग आदि हुन्छ, अरूलाई पनि त्यस्तै हुन्छ भनेर सम्झनु र तदनुरूप व्यवहार गर्नु हो। अर्थात्, मलाई यस अवस्थामा जाडो लागिरहेको छ, मेरा वरिपरि बस्नेलाई पनि जाडै लागेको होला; मलाई भोक लागिरहेको छ, तिनीहरूलाई पनि भोकै लागिरहेको होला भनेर सोच्नु नै मानिस हुनु हो।

मानिस हुनु भनेको यस प्रकृतिको शाश्वत सत्यलाई अनुभूत गरेर तदनुरूप आफ्नो जीवनलाई निर्देशित गर्नु हो। हामी खाली हात जन्मेका थियौँ र मरेर जाँदा पनि खाली हातै जान्छौँ। यस धर्तीमा रहने भनेको हाम्रो जन्म र मरणबीच हामीले गरेको सत्कर्म मात्रै हो। हरेक मानिसले यतिमात्रै कुरालाई मनन गरेर तदनुकूल व्यवहार गरेमा यो संसारका धेरै समस्या आफसेआफ समाधान हुन्छन्; अझ भनौं, धेरै समस्या त देखै पर्दैनन्।

तर, अहिलेको संसार र अहिलेका मानिसको चिन्तनलाई हाम्रा कवि लेखनाथ पौड्यालले आफ्नो ‘तरुण तपसी’ कवितामा चित्रण गरेजस्तो छ:

“म खाउँ मै लाउँ सुखसयल वा मोज म गरुँ,
म बाँचुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरू।”

मानिसको अर्को गुण विनयशीलता हो। मानिसले जब आफूलाई मानिस हुँ भन्ने बिर्सन्छ तब उसमा अहङ्कार जन्मन्छ। अहङ्कारले रिस, राग र द्वेषलाई पोषण दिन्छ। त्यसपछि समस्याहरू लहर लागेर उभिन थाल्छन्। यस्तो अवस्थामा अहङ्कारग्रसित मानिसमा आफू मात्रै ठीक हुँ, अरू सब बेठीक हुन् भन्ने चिन्तनले घर बनाउन थाल्दछ।

हामीले हाम्रो राजनीति, तिनका अधिकतर नेताहरू र तिनका क्रियाकलाप हेर्दा जस्ता विसङ्गति देख्छौँ, तिनको एक मात्र कारण तिनमा पलाएको अहङ्कार हो। अहङ्कारले ‘म मानिस हुँ’ भन्ने कुरा बिर्साउँछ। जुनसुकै अहङ्कारीलाई पनि लाग्छ, ‘मैले जे गरिरहेको छु एकदम ठीक गरिरहेको छु। योभन्दा राम्रो त के, यत्तिको पनि अरू कसैले गर्न सक्दैन। त्यसैले मेरो विकल्प छैन।’

नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ८० को हाराहारीमा लाग्न थाले। पाँच पटक प्रधानमन्त्री भइसके, छैटौँ पटक पनि बन्नका लागि एमाले नेता तथा प्रधानमन्त्री केपी ओलीको चाकरी गरिरहेछन्। नेपाली कांग्रेस समाजवादी पार्टी हो। समाजवादले कर्ममा विश्वास गर्छ तर देउवा भन्छन्, ‘मलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छस् भनेको छ।’ सायद यसरी भाग्यमा विश्वास गर्ने भएरै होला उनी कर्म गर्नतिर मन लगाउँदैनन्। होइन भने, पाँच-पाँच पटक प्रधानमन्त्री हुँदा उनले देश र जनताका लागि गरेको देखाउन लायक एउटा मात्रै काम उनले औंल्याउन सक्छन् र? कुनै समय उनैले मानेका सर्वोच्च नेता बीपी कोइराला १८ महिना प्रधानमन्त्री हुँदा उहाँले गरेका कामको बखान गरेर उनै थाक्दैन थिए।

देउवा मात्र होइन, शीर्ष कहलिएका अरू अरू नेताका अकर्मण्यताका कारण मानिसमा निराशा कति व्याप्त छ भने उनीहरू ‘हाम्रो देशमा केही भएन’ भन्छन्। जनताले पञ्चायती व्यवस्था फालेको २०४६ मा हो। त्यसयता मुलुकमा धेरै कुरा भएको छ। मानिसको जीवनस्तर धेरै माथि उठेको छ। पंक्तिकार भन्ने गर्छ, ‘मैले जान्दा मेरो जिल्ला इलामको सदरमुकाममा हाट भर्न आउने अधिकांश मानिसहरू खाली खुट्टामा हुन्थे। अहिले त्यही हाटमा दिनभरि डुल्दा पनि एक्लो मानिस खाली खुट्टामा भेटिँदैन। आधाभन्दा बढीका गोडामा त ब्राण्डेड जुत्ता हुन्छन्।’

मैले मानिसलाई अनिकाल लागेका कारण जङ्गलबाट गिठ्ठा, भ्याकुर, टाँकीका चिउला ल्याएर छाक टारेको देखेको छु। आजको पुस्ताले ‘अनिकाल’ शब्दको अर्थ सायदै जान्ला। आज ७७ वटै जिल्ला सडक सञ्जालमा छन्। तर, नेताको जीवनशैली, सरकारको कमजोर सेवा प्रवाह र दैनिक भ्रष्टाचारका घटना सुनेर र देखेर मानिस यति आक्रोशित छ, ऊ सबैतिर अन्धकार देख्छ। प्रगति भएको छ, तर स्रोत र समयको दाँजोमा कम भएको पनि पक्कै हो।

कांग्रेस, एमाले, र माओवादीका शीर्ष तीन नेताप्रति जनतामा कति आक्रोश छ भने तिनले मात्रै राजनीतिबाट सन्यास लिएको एकसाथ घोषणा गर्ने हो भने देशभरि दीपावली हुन्छ। आम मानिसमा नयाँ जाँगर र उत्साह पलाउँछ। तर, ती तीनै यस्तो कुरा सुन्न चाहँदैनन्। ‘रिटायर्ड हुने आशय व्यक्त गरेका देउवालाई अलिक चाँडै गरे झन् राम्रो’ भनेर सल्लाह दिने उनका महामन्त्रीलाई उनले थर्काएको हिजो-अस्ति मात्रै हो।

अर्का नेता तथा प्रधानमन्त्री केपी ओली ध्वाँस दिन्छन्— ‘केपी ओली बेगरको एमालेको कल्पना गर्न सकिँदैन।’ उनी ‘पढैया’ भनेर पनि चिनिन्छन्, तर मार्क्सवादको किताब चाहिँ उल्टो पढे क्यार! र त मार्क्सवादी लेनिनवादी पार्टीमा एउटा व्यक्ति निर्विकल्प हुन्छ भन्ने धृष्टता गर्न सक्छन्। ‘जनताको बहुदलीय जनवाद’ त पछिल्लो भयो, त्यसलाई पचाउन समय लाग्छ भन्ने मान्न सकिन्छ।

तेस्रा अर्का शीर्ष नेता आँखामा के दलेर हिँड्छन् को नि? उनी जता गए पनि मानिसलाई माओवादी मात्रै देख्छन् र नै त होला चौरासीमा हामी एक्लै बहुमत ल्याउँछौँ भन्छन्। उता सर्वसाधारणको कुरा सुन्ने हो भने माओवादी पार्टीकै चौरासी गर्न बितेको जस्तो लाग्छ।

यति हुँदाहुँदै पनि गत असार १३ गते नेपाली कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरा देवी प्रधानको देहावसानको सातौँ दिन चितवनमा पुगेर श्रद्धाञ्जली सभामा शेरबहादुर देउवाले भनेछन्— ‘म रिटायर्ड हुन लागेको छु, यो पार्टीलाई एक बनाउने इच्छा छ (दुई पार्ने अगुवा को थियो र?)। यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक-पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक अब मेरो कुनै उद्देश्य छैन।’ यति बेला पनि देश बनाउने कुरा त छैन। उनको भनाइ त ‘कांग्रेस बलियो बने देश बन्छ’ जस्तो छ। तर, कांग्रेसले देश बनाउने त परको कुरा, देउवा आफैले कांग्रेसलाई नै पो बलियो बन्न दिइरहेका छैनन्।

कांग्रेसलाई बलियो कहिले पार्लान्, देउवाले नै जानुन्। त्यसको थालनी गर्ने साइत हेराउनै बाँकी होला ज्योतिषीलाई। तर, दुब्लो भने कति बनाए भने संसदमा सबैभन्दा बढी सदस्य भएको आफ्नो पार्टी दोस्रो भएको पार्टीलाई गादीमा बोकेर देउवा स्वयं पोखराको लिचीबारीदेखि झापाको बुटाबारीबीच म्याराथन लगाइरहेका छन्।

चितवनमा जस्तै असार २७ मा बागलुङ पुगेर त्यहाँको कांग्रेसका संस्थापक नेता गोविन्द कँडेलको १३ औँ दिनको काममा उनलाई श्रद्धाञ्जली दिने क्रममा पनि देउवा फेरि पग्लिएछन् र भनेछन्— ‘कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल छ।’ गाँठी कुरा त थाहा रहेछ देउवालाई, तर यस्ता सत्य कुरा बोल्ने प्रेरणा उनलाई घाटतिर मात्रै मिल्दो रहेछ।

घाटैमा भए पनि सत्य कुरा बोलेकामा देउवालाई धन्यवाद दिनै पर्छ, तर चौरासीमा भोट माग्दै जाँदा मतदाताले कांग्रेसजनलाई ‘तिमीहरूलाई भोट किन दिने, देश र जनताका लागि काम गर्ने मानिस कांग्रेसमा छैन भनेर त तिमीहरूका केन्द्रीय सभापतिले नै भनेका छन् त!’ भन्ने प्रश्न राखे भने के जवाफ दिने होला र? कांग्रेस हुँ भन्नेको त हुर्मत काडेरै छाड्ने भए कांग्रेस सभापति तथा हरदम प्रधानमन्त्री आकांक्षी देउवाले!

* * *

नाच्न जान्दैन, स्टेज टेढो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *