रायोको सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य
प्रतीकात्मक तस्बिर
काठमाडौं । संघीय राजाधानी काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा बेच्न राखिएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट ल्याइएको साग परीक्षण गर्दा अत्यधिक विषादी भेटिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार ल्याइएको रायो सागमा अर्गानोफस्फेट नाम गरेको विषादी ८२.७८ प्रतिशत पाइएको हो ।
उक्त बजारमा राखिएका १७ किसिमका तरकारी र फलफूलको मंगलबार केन्द्रीय कृषि प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको समितिले जनाएको छ ।
विषादीको मात्रा अत्यधिक भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ । सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाइएको छ ।
४५ प्रतिशतभन्दा बढी विषादी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । कालीमाटी बजारमा यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
अत्यधिक विषादी प्रयोग गरिएका तरकारी र फलफूल खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरूले बताउँदै आएका छन् । त्यस्ता विषादीले गम्भीर प्रकृतिका रोग निम्त्याउने पनि उनीहरूको भनाइ छ ।
