शिक्षा ऐन जारी गर्न दबाब दिंदै नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिले शिक्षा ऐन जारी गर्न माग गरेको छ । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने साथै विश्वविद्यालयमा योग्यता प्रणाली (मेरिटबेस) मा आधारित उपकुलपति नियुक्ति गर्न पनि माग गरिएको छ ।

यी मागहरू अघि सार्दै नेविसंघले दबाबमूलक हस्ताक्षर अभियान सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट सुरु भएको अभियानमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।

नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले लामो समयदेखि प्रतीक्षा गरिएको शिक्षा ऐन अहिलेसम्म जारी हुन नसक्दा समग्र शैक्षिक क्षेत्र प्रभावित बनेको बताए ।

सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाए पनि त्यो म्याद गुज्रिसकेको छ । केही विषयमा सहमति जुट्न नसक्दा विधेयक संसदीय समितिमै अड्किएको छ ।

यसैगरी राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक वातावरण खस्किएको भन्दै यसको अन्त्यका लागि दबाब दिन अभियान थालिएको उनको भनाइ छ ।

‘शिक्षा ऐन अझैसम्म लागू हुन सकेको छैन, जसले समग्र शैक्षिक क्षेत्रलाई नै अलमलमा पारेको छ। अर्कोतर्फ, विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दलीय भागबन्डाका आधारमा उपकुलपति नियुक्त गर्ने गलत परम्पराले यसको गरिमामाथि नै प्रहार भएको छ’ उनले भने ।

गलत प्रवृत्तिको अन्त्य चाहेको बताउँदै त्यसले योग्य र सक्षम प्राज्ञिक व्यक्तिलाई योग्यता र कार्ययोजनाका आधारमा नियुक्ति गर्न दबाब दिन अभियान थालिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *