गणेश रसिकको निधन
अस्पतालमा उपचार गराइरहेका बेला गणेश रसिक। तस्बिरः विमल वैद्य
काठमाडौं। गीतकार, गायक एवं सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको नेपाल क्यान्सर अस्पतालमा उनको आइतबार निधन भएको हो। रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए।
उनको शव टिचिङ अस्पतालमा राखिएको छ। संगीतकार वसन्त मुकारुङका अनुसार रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ।
उनको उपचार भइरहेको थियो। भोजपुरको छिनामखुमा २००४ असोज ४ गते थुलुङ राई परिवारमा जन्मिएका रसिक पछिल्लो समय इलामको सूर्योदय नगरपालिका, फिक्कलमा बस्दै आएका थिए। त्यहाँ उनले चिया खेती पनि गरेका थिए।
‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता रसिकका गीत निकै चर्चित् छन्।
रसिकका ‘दशगजामा उभिएर हेर्दा’, ‘क्षितिजलाई छुन खोज्दा’ ‘एउटा सारंगी छुन खोज्दा’ ‘रसिकका गीतहरु’ ‘आकाशगंगाको ओतमुनि’ ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ ‘बिलाउँदै गएका गीत’ लगायत कृति प्रकाशित छन्।
रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक समेत भएका रसिक पछि सांस्कृतिक संस्थानको महाप्रबन्धक बनेका थिए। यसैगरी, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएर पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए।
उनकी श्रीमती निरा शेरचनको तीन वर्षअघि निधन भएको थियो। नेपाली लोक शैलीकागीत तथा राष्ट्रिय गीतहरुमा रसिकले आफ्नो स्वर र संगीत दिएका छन्। कतिपय उनले रचना पनि गरेका छन्।
बीचमा केही समय उनी राजनीतिमा पनि लागेका थिए। इलाम क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सांसदको उम्मेदवार बनेका उनी पराजित भएका थिए।
रसिकको अगुवाइमा केही वर्षअघि सूर्योदय नगरको रम्फोकमा ‘रेडियो फिक्कल’ एफएम रेडियो स्थापना गरिएको थियो। यो रेडियोमा हिन्दी गीत बजाइँदैन। नेपाली लोक र मौलिक गीतहरुलाई प्राथमिकता दिने गरिएको छ।
मरे, बाँचे कालले साँचे नसाँचे…
पछिल्लो समय रसिकको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार हुँदै थियो। बिरामी परेका बेला कतिपयले सहयोगको कुरा गरेकोप्रति उनले असन्तुष्टि जनाएका थिए।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए–
‘मेरो क्यान्सर उपचारको क्रममा मेरा आफन्त, प्रियजन, शुभेच्छुकहरूको माया, शुभेच्छा र साथ पाएको छु। यहाँहरूको यो सहृदयता मेरो लागि सुखद क्षणहरू हुन् र म लगायत मेरो परिवार सदैव आभारी रहनेछ। साथै यहाँहरूको यो सहृदयतालाई म आर्थिक सहयोगको रूपमा प्राप्त गर्न भने अस्वीकार गर्दै यस्तो सहयोग गर्ने विचार व्यक्त गर्दै म र मेरो परिवारको सदस्य, नातागोता कसैलाई पनि सम्पर्क नगर्न वा सरसल्लाहपूर्वक सामूहिक रुपमा संकलित भएको सहयोग रकम दिन आउने काम नगर्नु हुन विशेष अनुरोध पनि गरेको छु। यहाँहरूले मेरो अनुरोधलाई सकारात्मक भावका साथ स्वीकार्नु हुनेछ भन्ने आशा राखेको छु। हाम्रो सदाशयताले कुनै पनि रकमी कारोबारको रुप नलियोस् भन्ने मेरो इच्छाको मान राखिदिनुहुन्छ भन्ने विश्वास छ। मरे, बाँचे कालले साँचे नसाँचे, माया, सम्बन्ध सम्झना सुमधुर रहोस् है हजुर हो।’
