शिक्षक प्रतिनिधि र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले आज शुक्रबार छलफल गरेका छन्। जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी छन्।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासंघको आव्हानमा चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए।

मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन बोलाउने पहल गरेको थियो।

सरकारको तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्न सिफारिस गरिएको थियो।

मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो।

काठमाडौंमा थपिँदै शिक्षक-कर्मचारी, माग पूरा नभइ नफर्कने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *