माहुरीको घारमा ‘मृत्युदण्ड’ को नियम

माहुरी फूलका पराग र रस चुसेर मह तयार पार्ने चार पखेटायुक्त एक किसिमको किरो हो। यसलाई माउरी, मौरी पनि भनिन्छ।

असाध्य मेहनत गर्ने भए पनि एउटा माहुरीले आफ्नो जीवनकालमा ठूलो आकारको एक चम्चा मात्रै मह जम्मा गर्न सक्छ।

अध्ययनअनुसार त्यति मह जम्मा गर्न माहुरीले हजारौं फूलहरुमा पुग्नुपर्छ। त्यसैले भनिन्छ, ‘मेहनतको फल मीठो हुन्छ।’

माहुरीबारे वैज्ञानिक अनुसन्धानबाट अनेक खालका रोचक तथ्य पत्ता लागेको छ।

प्रकृतिको अनुपम देन माहुरीहरू पनि कहिलेकाहीँ मान्छेझैँ रक्सी खाएर लठ्ठिन्छन्। फूलको रस (nectar) वा पाकेका फलहरू कहिलेकाहीँ प्राकृतिक रूपमा फर्मेन्ट भएर त्यसमा एथानोल (alcohol) बन्न सक्छ।

यदि माहुरीहरूले त्यस्ता रस पिए भने, त्यसले उनीहरूलाई रक्सीको जस्तै असर गर्छ।

रक्सीको प्रभावमा परेका माहुरीहरू ठिकसँग उड्न सक्दैनन्, बारम्बार वरिपरि ठोक्किन्छन्। सन्तुलन गुमाउँछन्। यस्तो अवस्थामा उनीहरूको दिशा पत्ता लगाउने क्षमता (navigation) कमजोर हुन्छ, जसका कारण उनीहरू घारसम्म फर्कन पनि सक्दैनन्।

माहुरीको घारमा नियम कडा हुन्छ।

लठ्ठिएका माहुरीहरूलाई घारको सुरक्षामा रहेका ‘गार्ड’ माहुरीहरूले घारभित्र पस्न नदिई फर्काइदिन्छन्। पटक–पटक लठ्ठिएर फर्किने माहुरीहरूलाई उनीहरूले सजाय दिन सक्छन्।

सजाय अवस्थाअनुसार हुन्छ। घारबाट निष्कासित गर्न सक्छन्। कहिलेकाहीँ ‘मृत्युदण्ड’ समेत दिन सक्छन्। सुरक्षामा रहेका गार्ड माहुरीहरूले यस्ता अनुशासन नमान्ने माहुरीको खुट्टा, टाउको छुट्टाएर घारकै ढोकामै मार्ने गर्छन्।

यो वैज्ञानिक खोज र अनुसन्धानबाट पत्ता लागेको विषय हो। संसारमा रहेका हरेक प्राणीका आ–आफ्नै खाले नियम हुन्छन्। अनुशासन हुन्छ। पालना नगरे त्यसले आफ्नै समुदायलाई असर गर्छ। त्यसैले प्राणी अनुसार आफ्नो नियम हुन्छ। यो रोचक प्राकृतिक कुरा हो।

अनुशासन सबैका लागि अनिवार्य कुरा हो।

छैन र अचम्म?

अध्ययनअनुसार माहुरी एपिस सेरेना र एपिस मेलिफेरा गरी मुख्यतः २ प्रजातिका हुन्छन्। यिनमा उपप्रजाति पनि थुप्रै पाइन्छन्। एपिस सेरेना आकारमा साना र बढी चिल्ने वा टोक्ने प्रवृत्तिका हुन्छन्। यसको तुलनामा एपिस मेलिफेरा कम चिल्ने र शान्त प्रकृतिको हुन्छ।

जुनसुकै प्रजातिका भए पनि माहुरीका केही साझा चरित्रगत विशेषता हुन्छन्। तीमध्ये माहुरीको सामूहिक बसाइ हुन्छ। रानी माहुरी, भाले माहुरी, कर्मी माहुरी गरी भिन्न तह हुन्छ। रानीले सिंगो गोलाको हेरचाह गर्ने, सुपरीवेक्षण गर्ने, फूल पार्ने र अभिभावकत्व लिने गर्दछन्।

भाले माहुरी रानी माहुरीसँग संसर्गका लागि मात्र पालिएका हुन्छन्। तिनले मह जम्मा गर्ने काम गर्दैनन्। रानी माहुरीसँग संसर्गमा आउने भाले माहुरी रानीसँग संसर्ग हुनासाथ मरिहाल्छ। त्यसैले यसलाई ‘पाण्डु माहुरी’ पनि भन्ने चलन छ।

१० हजार वर्षअघि हराएका ब्वाँसोको फेरि जन्म


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *