दाजुको सम्झना अनि समृद्धिको सपना
‘हामीले जनशक्ति पलायन भयो भनेर रोक्नका लागि विमानस्थलमा नाकाबन्दी गरेर विकास अगाडि बढ्दैन। न त विदेशिएका साथीहरूले नेताहरूलाई सरापेर नै विकास हुन्छ।’
‘विकासको भुताहा आवाजमा व्यक्तिपिच्छे उत्तर हुनु आ-आफ्नै प्राथमिकता, चाहना, बुझाइ र सपनाबाटै निर्दिष्ट भएका छन्। पृथ्वीनारायण शाहलाई लाग्यो, टुक्रिएका राज्यहरू एकआपासमा लडिरहनु विकास बाधक हुन् ठाने र स–साना जोडेर एउटै राज्य बनाए। राणाहरूलाई लाग्यो, भाइभारदारहरूको किचलो, छिमेकीसँग अर्थहीनयुद्ध र कमजोर शासक नै विकासका बाधक हुन् ठानेर राणाहरूले केन्द्रिकृत पारिवारिक शासन शुरू गरे।
कांग्रेसलाई लाग्यो राणाशासनमा स्वतन्त्रताको अभाव, सामन्ती शोषण र राज्यकोषको दुरूपयोग नै देश विकासको बाधक हो। राजा महेन्द्रलाई लाग्यो, यो भर्खर बन्द समाजबाट बाहिर आएको मुलुक, यसले उदार प्रजातन्त्र र स्वतन्त्रता पचाउन सक्दैन। जताततै दलदल दलहरूको भिडन्त। यसरी विकास हुँदैन ठानेर दलविहिन घोषणा गरेर पञ्चायत ल्याए।
पछि निरंकुश पञ्चायत फालेर बहुदल ल्याए। कांग्रेसले नेतृत्व गर्यो। निजीकरण सुरू भयो। पुराना उद्योग लिलाम भए नयाँ लगानी आएन। कम्युनिस्टहरूलाई लाग्यो, भएका उद्योग बेचेर यो कस्तो विकास हो। एमाले सरकारमा गयो विकास गाउँबाट हुनुपर्छ, ‘आफ्नो गाउ आफैं बनाऔं’ भन्दै जनता उराल्यो। गाउँलेले नै खर्च गर्ने भनेर बजेट पठायो। शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दियो।
कांग्रसले भन्यो, ‘राज्यकोष बर्वाद भयो कनिका छरेर विकास हुँदैन।’ माओवादीले सहरको विकासमा साम्राज्यवाद देख्यो। गाउँको विकासमा सामान्तवाद देख्यो र रोल्पा, रूकुम, कर्णालीबाट जनयुद्ध थाल्यो।
धेरै उद्योग बन्द भए। धेरै युवा विदेश पलायन भए। दलहरूले विद्रोह रोक्न सकेनन्। राजालाई लाग्यो, विकासविरोधी विद्रोहलाई दमन गर्छु अनि विकास गर्छु। माओवादी मात्र परेन बरू कोही पनि बाँकी रहेनन्। स्वेच्छाचारी राजा नराख्ने सबै रोगको उपचार संविधानसभालाई ठानियो।
राजतन्त्र गयो। माओवादी सरकारमा आयो। केन्द्रीयता गलत छ भन्ने तर सबै निर्णयदेखि कार्यान्वयनसम्म केन्द्रबाटै गर्ने परस्पर विरोधी नीति अपनाइयो। दश बर्षमा ५२ अर्बभन्दा बढी भ्रष्टाचार भएको त रिपोर्ट नै आयो। सेना, पुलिस, नोकरशाही पुरानो भए, माओवादीले कारबाही थाल्यो। सर्वसत्ताबादको कुरा आयो। कम्युनिष्टका चार जना प्रधानमन्त्री भए। दुई वर्षे कार्यकाल चार बर्ष बनाए पनि संविधान बनेन। त्यसपछिको देशको अवस्था आज सम्मपनि हामीहरूले भोगिरहेका छौ।’
यी माथिका प्रसंग ‘समृद्ध नेपाल’ पुस्तकबाट लिइएको हो।
अहिले सबै कुराको निकास दिन भनेर एमाले–कांग्रेसको संयुक्त सरकार छ। रास्वपा चौथो शक्तिमा आए पनि आफ्नै आन्तरिक अपरिपक्वताका कारण रूमल्लिएको छ। फेरि कताकता पूर्व राजाले महाराजधिराजको हैसियतमा दलहरूलाई चेतावनी सहित जनतालाई सहयोग गर्न आह्वान गर्ने स्थिति देखिनु कतै फेरि घुमिफिरी रूम्जाटार भनेजस्तै इतिहासको गोलचक्कर मात्र बनाउने चेस्टा त होइन?
‘समृद्ध नेपाल’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मेरा श्रद्धेय दाजु रवीन्द्र अधिकारीले लेख्नु भएको हो। उहाँ फागुन १५, २०७५ मा ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत हुनु भएको थियो।

ठिक ७ बर्ष अगाडि आजकै दिन हो देशले सक्षम युवा नेता, परिवारले एक महत्वपूर्ण अभिभावक गुमाएको दिन। यो दिनले दिएको असाध्य पीडा वर्णन गरेर साध्य छैन। समय हो बिस्तारै कम त हुँदै जान्छ तर स्मृतिपटबाट न दाइ हराउनु हुन्छ, न त त्यो पीडा नै।
आज फेरि त्यही दिन आएको छ। सबैका प्रिय नेता रवीन्द्र अधिकारीको स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु। दाजुको एउटा सपना थियो, देश समृद्ध बनाउने। उहाँलाई सम्झदै उहाँको अधुरो सपना सम्झँदै यी श्रद्धास्वरूप शब्दहरू कोर्ने प्रयास गरेको छु।
के हो समृद्धि? कसरी आउँछ?
सोचमै समृद्धि यसको मूलमन्त्र हुन सक्छ। मनमा समृद्धिले इच्छाशक्ति बलियो बनाउँछ। भौतिक विकास मात्र समृद्धि होइन। सबै क्षेत्रको सन्तुलित विकास नै समृद्धि हो। मन मनमा छाउने खुसी भावनात्मक समृद्धि हो।
चेतना, सोच, इच्छाशक्ति यी सबैको समिश्रणले हो समृद्धि आउने। सकारात्मक र इमान्दार प्रयासले हो सर्वाङ्गीण विकास हुने। यो पनि भएन, त्यो पनि भएन भन्दै गुनासो गर्ने प्रवृत्तिले पछाडि धकेल्न, समृद्धिको बाटो देखाउँदैन। जनता र नेतृत्वको लगनशीलता, आत्मबल, धैर्य भएको ठाउँमा आज समृद्धि छ। यसका धेरै उदाहरण छन्।
जहाँ अस्वाभाविक चञ्चलता छ, छिन छिनमा मन परिवर्तन हुन्छ। जहाँ धैर्य छैन त्यहाँ सधैं अभावैअभाव छ। यस्तो प्रवृत्ति समृद्धिको बाधक हो। गरिब देशमा कोहीकोही व्यक्ति मात्र सम्पन्न बनेका छन्, सीमित। तर यसले पनि उनीहरु स्वयंलाई शान्ति र अमनचैन छैन। वरपर प्रतिकूल वातावरण हुँदा एक्लो कोही कसरी अनुकूल मानसिकतामै रहिरहन सक्छ?
समृद्धि धेरै पैसा हुनु, भौतिक सुख पर्याप्त हुनु, शौखिन जीवनशैली अपनाउनु यी मात्र समृद्धिका सूचक होइनन्। पटक्कै होइनन्। समग्र समाज अनि राष्ट्र समृद्धि पथमा अघि बढेमात्र यसले सबैलाई सकारात्मक ऊर्जा दिन्छ।
दुई प्रमुख विपरीत राजनीतिक दर्शनका आधारमा आफ्नो देशलाई कसरी समृद्धशाली बनाउने भनेर हरेक देशमा पार्टीहरू बन्ने गर्छन्। जनताबाट अनुमोदित भएर देशको बागडोर समाल्छन्। संसारमा प्रजातान्त्रिक मुलुक धेरै छन्। एकाध तानाशाही पनि छन्। श्रम र पुँजीको आधारमा सर्वहाराको नेतृत्व गर्ने पँुजीपति वर्ग र सम्भ्रान्त्र समूहको नेतृत्व पुँजीपति वर्गले गर्दै आएका छन्।
अहिले दुबै धारले आफ्नो कमजोर र सबल पक्ष एक आपसमा अनुशरण गरेर विकासित भएका छन्। आज कमसेकम श्रमशोषण गर्न नसक्ने कानुन प्रायः सबै मुलुकमा छ। यस्तो हुनुमा पहिलो श्रेय कार्लमार्क्सलाई नै जान्छ। एडम स्मिथ लगायतका अर्थशास्त्रीहरूले पनि फरक कोणबाट महत्वपूर्ण योगदान दिएको पाइन्छ। बिभिन्न धर्मको माध्यमबाट पनि समृद्धिका लागि योगदान दिन खोजेको पाइन्छ। यद्यपि धर्मको नाममा हुने विकृतिजन्य क्रियाकलाप पनि देखिन्छ।

नेपालमा समृद्धि छ? वा समृद्धिको मार्गतिर पाइला सोझिएको छ? यसका बाधक के छन्? किन तिनलाई पन्साएर एकचित्त भएर अघि बढ्न सकिंदैन? यी प्रश्न केलाएर मनन गर्नु अत्यावश्यक छ।
हिन्दु धर्मले धन आर्जन गर्दै, पुण्य काम गरेर स्वस्थ जीवन जीउनु समृद्ध रहनु ठान्दछ भने बुद्ध धर्मले काम, वासना, धन सम्पत्ति, परिवार आदि सम्पूर्ण मोह त्याग गरेपछि त्यसबाट आउने आनन्दलाई नै समृद्धि मानेको छ। कडा परिश्रमी, त्यागी, मिलनसार, दानी, योगी, ऋषिमुनी, खगोलशास्त्री, दार्शनिक, साहित्यिकहरू मार्फत हिजोदेखि नै शिक्षित भूगोल बनाउँदा जहाँबाट पूर्वीय दर्शनको विकास भएको थियो। भनेपछि हामी एक अर्थमा समृद्ध मुलकका थियौं र छौं पनि भन्दा फरक नपर्ला। बाटो बिरायौं कि भनेर होसियार हुने मात्र हो।
हुन त सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर गर्व गर्छौं। मिस्रित सभ्यता, संस्कृति, भाषाले प्राकृतिक सुन्दरताले सुसज्जित देश मान्छौं। के यति पर्याप्त हो? यिनको संरक्षण गर्दै सबै समुदाय र धर्मबाट सकारात्मक पक्ष अनुशरण गर्दै उन्नतितिर अघि बढ्न सकिंदैन? सोचौं।
हामी सहयोगी र बिनम्र छौं। अतिथि देवो भवः? भन्छौं। अरूको दुःखमा दायाँबायाँ नसोची सहयोग गर्न लालायित हुन्छौं। यो विशिष्ट गुण नेपालीको विशेषता हो। अन्यत्र विरलै पाइन्छ। हामीले होइन नेपाली र नेपाललाई नजिकबाट चिनेका धेरै विदेशीले भन्ने गरेको सत्य हो यो।
पूर्वीय चिन्तन नै समृद्ध छ। त्यसैको अनुशरण गरेर धेरै पुरातनवादी कुरालाई परिमार्जन गरेर काम गरे हाम्रो समृद्धि कुनै शक्तिले रोक्न सक्दैन।
आज पनि विपन्न वर्ग, दलित वर्ग माथि उठ्न सकेका छैनन्। यस्तो जनसंख्या धेरै छ नेपालमा। राम्रो शिक्षा पनि छैन। देशमा रोजगार गरेर समृद्ध जीवनशैली आत्मसाथ गर्न सक्ने गतिलो आधार छैन। त्यसैले विदेशिनेको लर्को बढेको बढ्यै गरेको हो।

आखिर किन यस्तो भएको छ?
ऊर्जाशील समय विदेशमा बिताएर निवृत्त हुने बेला स्वदेश फर्कंदा के बाँकी रहला? बुढाबुढीको मात्रै बाहुल्य भएको समाज गतिशील हुन सक्ला? पक्कै पनि सक्दैन।
हो देशमा सबै क्षेत्रप्रति सन्तुष्ट हुने आधार छैन। तर यसो भन्दैमा सबै विदेशिँदा यहाँको सामाजिक संरचना नै भताभुंग भइरहेको त छैन? राज्य र नीति निर्माताले ठोस रुपमा केही गर्ने बेला भएन र? ढिलाइ भएको छ, तर बितिहालेको केही छैन। अझै गर्न सकिन्छ। गरौं। गर्नलाई दबाब दिऔं।
अबको १० दश वर्षभित्र युवालाई देशभित्रै रहन सक्ने वातावरण बनाउनु पर्छ। यो तबमात्र सफल हुन्छ तब हरेक नागरिक जिम्मेवार, समान अवसर, चेतनामा विकास, सीपमा विकास भएको जनशक्ति तयार हुन्छ। श्रम आफ्नै माटोमा गरे, आफ्नै भूमिमा पसिना बगाए समृद्धि धेरै टाढा हुँदैन। नत्र मागेर कतिन्जेल चल्छ?
चल्दैन। यसको उदाहरण त ताजै छ। दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले नेपाललाई दिंदै आएको अनुदान सहयोगबारे दिएको अपमानजनक अभिव्यक्ति र उनको सहयोग रोक्ने रणनीति नै यसका लागि पर्याप्त छ।
यो कुरालाई हाम्रा राजनीतिक दल, नेतृत्व र सरकारले बुझ्न सक्नु पर्छ। आम नागरिकले बुझ्नु पर्छ। राज्यले राजस्वको सही सदुपयोग गरेर असक्षम नागरिकको जिम्मा लिनुपर्छ। अभिभावकका रुपमा राज्य सम्मानित हुन सक्नु पर्छ।
प्रवासमा छु तर मातृभूमिबाट टाढा छुइनँ। भौतिक रुपमा मात्र टाढा हो। कुनै न कुनै माध्यमबाट नेपालको दुःख, सुखमा आफूलाई एकाकार गरेको छु। सानो होला तर केही न केही योगदान गरेकै छु। मजस्ता अरु धेरैले पनि गरिरहेका होलान्।
विदेशमा रहेका हरेक नेपालीले नेपालका बारेमा चिन्ता गरेकै हुन्छ। अपवाद हुन सक्छ, चटक्कै बिर्सिएर व्यक्तिगत वा पारिवारिक सुख सयलमा मात्र केन्द्रित हुनेहरु पनि नभएका होइनन् तर ती सीमित छन्। नागरिकले पनि सक्दो प्रयास गरिरहेकै छन्। मुख्य रुपमा राजनीति सहज र स्थिर भए मुलुकमा समृद्धि आउने हो। प्रजातन्त्र पुनःस्थापनापछि राजनीतिक स्थिरता नभएर नै हो सोचेजस्तो विकास हुन नसकेको भन्ने स्वीकार्न सक्नु पर्छ। अनिमात्र अगाडिको बाटो अवरोधविहीन बनाउन सकिन्छ।
समृद्धिको बाधक भनिएका राजनीतिक व्यवस्थाहरु फेरिँदै आए तर समृद्धि आयो त? किन आएन? यसमा सुक्ष्म रुपले विश्लेषण गर्दै सुधारिएर अघि बढ्नुपर्ने होइन? धेरै ठूला राजनीतिक परिवर्तनहरु भए, त्यसैअनुसारको आर्थिक परिवर्तन भने सुस्त देखिएको छ। निरासा ल्याउने एकमात्र विषय भनेकै यही हो।
धेरै ठूला कुरा गर्नै पर्दैन। सानो सानो कुरादेखि सुधार गर्न सकिन्छ। वातावरणलाई केन्द्रविन्दुमा राखेर पहिचान झल्काउने सभ्यताको संरक्षण गर्नुपर्छ। संस्कृतिलाई ध्यान दिंदै एकीकृत बस्तीहरु बसाउन सकिन्छ। उन्नत तरिकाले खेती गरेर समृद्धि निम्त्याउन सकिन्छ। यसो गर्न सके रोजगारी बढ्छ। परनिर्भरता घट्छ। अर्थोपार्जन हुन्छ।
मुख्य कुरा नेतृत्वको सोचमा समृद्धि आउनु पर्छ। असल नेता तो हो जसले भीड आफूतिर तान्न सकोस्। भीड हेडेर, भीडकै पछि लागेर आफ्ना कुरा, पूर्वसोच र मिसन छोडेर हिँड्ने नेतृत्व असल होइन। यो कुरा खासमा जनताले बुझ्नै पर्छ। हरेक कुरामा तुरून्तै नकारात्मक धारणा फैलाउने प्रवृत्ति पनि उचित होइन।
राजनीतिक परिवर्तन धेरै भए। हाम्रा अग्रज नेताहरुले यसका लागि धेरै योगदान दिएका छन्। तर अबको दायित्व भनेको परिवर्तनबाट आएको उपलब्धि जोगाउँदै आम भुइँमान्छेको जीवनस्तर उकास्नु हो। यसमा अहिलेसम्म चुकिरहेको अवस्था सत्य हो। यो सत्य राजनीतिक दल र नेताहरुबाट लुकेको छैन। नभएको के मात्र हो भने, एकीकृत प्रयास शून्य। राजनीतिक र अझ दलीय त्यसमा पनि गुटगत स्वार्थ हाबी भएर यस्तो भएको हो।

सम्भावनै सम्भावनाले युक्त मेहनती नागरिक भएको देशले सधैं पछि पर्नु पर्छ भन्ने के छ? सकिन्छ। खाँचो दृढ इच्छाशक्तिको हो। खाँचो इमान्दार प्रयासको हो। खाँचो एकीकृत रुपमा मातृभूमिको उन्नतिका लागि संकल्पको हो।
जलस्रोत पर्याप्त छ। पर्यटनमा संसारकै अब्बल अवस्था छ। हिमाल, पहाड र तराई सबै किसिमले उन्नत र उर्बर भूमि छ। यिनैको सदुपयोग गरे देश समृद्ध हुन धेरै समय नै लाग्दैन। अरु देशको उदाहरण हेरे प्रष्ट हुन्छ। कति तन्नम देशहरु आफ्नै परिश्रमले अग्रणी बनेका छन्।
नेपालमा पर्यटन मुख्य मध्येको एउटा आधार हो। मौलिक संस्कृति झल्कनले खालका ससना व्यवस्थित होटलहरु यसका आधार हुन्। प्रकृति र वातावरणमा प्रतिकूल असर नगर्ने गरी गरिने भौतिक विकास पनि पर्यटन विकासमा सहयोगी पक्ष हो।
हिमालसहितको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने ठाउँहरुमा स्थानीय र बाह्य पर्यटकलाई भित्र्याउने, लामो समय बसाउन सक्ने रणनीतिक योजनाहरु आवश्यक छ। त्यस्ता ठाउँहरुमा आधारभूत आवश्यकताका कुराहरु उपलब्ध हुनुपर्छ। अत्याधुनिक सुविधा खोज्दै आउँदैनन् विदेशी पर्यटक। आफ्नैमा त्यस्ता सुविधाले वाक्क भइसकेका हुन्छन्। उनीहरुलाई यहीँको रैथाने संस्कृति, परम्परा, परिकार अनि सत्कार दिन सके नै पर्याप्त हुन्छ। पर्यटन नेपालको समृद्धिको मुख्य आधार भएको त छर्लङ्गै छ।
यसबाहेक कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै त्यसमा आधारित उद्योगहरु बढाउन सकिन्छ। अन्यत्र नहुने जडिबुटीहरु नेपालमा कति छन् कति। तिनको सदुपयोग गर्दै निर्यात बढाउन सक्नु पर्छ।
यी सबै कुरामा सरकारको मुख ताकेर मात्र पनि हुँदैन। सरकारले सहजीकरण गरिदिनुपर्छ। झन्झटिला नियम कानुनलाई सहज बनाउनु पर्छ। लगानीको वातावरण बनाउनु पर्छ। सुरक्षा दिनु पर्छ। निजी क्षेत्रले यसमा भरथेग गर्न सक्छ। नागरिक स्तरबाट पनि धेरै काम हुन सक्छ।
यी धारणा श्रद्धेय दाजु रवीन्द्रले पटक पटक सार्वजनिक रुपमा र पारिवारिक वातावरणमा पनि व्यक्त गर्ने गर्नु हुन्थ्यो। अरु धेरै विद्वानका धारणा पनि समान खालका सुनिन्छ। त्यसैले पनि आजको यो दिनमा दाजुको स्मृति झन् गाढा भएर आइरहेको छ।
अन्त्यमा, केही दिनदेखि माननीय शिक्षा मन्त्री आदारणीय भाउजू बिद्या भट्टराई अस्वस्थ हुनु भएको छ। अहिले क्रमिक सुधार भइरहेको छ। दाजूको स्मरण गर्दा भाउजूको योगदान कम ठानेको छुइनँ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना।
दाजुको स्मृतिमा आज गृहनगर पोखरामा कार्यक्रम भइरहेको छ। भौतिक रुपमा म उपस्थित हुन सकिनँ तर मनै त्यतै छ। यो बेला धेरैले उहाँको सम्झना गर्दै अक्षर र शब्दका माध्यमले माया पोखिरहनु भएको छ। सामाजिक सञ्जाल, औपचारिक कार्यक्रममा मात्र होइन, प्रत्यक्ष रुपमा सम्पर्क गरेर पनि दाजुको सम्झनालाई ताजा बनाइराख्नु भएको छ। म ती तमाम प्रियजनप्रति नतमस्तक छु।

सम्वृद्धि वास्तवमा मान सम्मानको वातावरणबाट मात्र सम्भव छ । अहिले हामीले सुक्ष्म रुपमा हेर्ने हो भने यहाँ बाताबरण नै अपमानमा चलिरहेको छ । आफ्नो कद बढाउन अर्काको कद छोट्याउने खेलमा हामी सबै अभ्यस्त नै छौं । एक जनाले सकारात्मक सोच लिएर अगाडी बढ्यो भने अर्कोले नकारात्मक व्यवहारले त्यो सकारात्मक सोचको गला घोट्छ । न यो बन्छ न त्यो बन्छ । इदं भ्रष्टं उदं भ्रष्टं (यता पनि भ्रष्ट उता पनि भ्रष्ट) बनाउनु मै हामी सबै रुमल्लिइरहेका छौं । खै यो अपमान गर्ने र गराउने सोच कहिले घट्ला र ? जुन दिन सबैले सबैलाई सम्मान गर्ने दिन आउँछ सम्बृद्धि पनि सयौं गुणा वेगले आउने छ अन्यथा यो जे छ त्यो पनि अधोगति तिर नै जाने मेरो व्यक्तिगत धारणा छ ।