मामाघर आएकी बालिकाको हत्या

विराटनगर। १४ वर्षीया चाँदनी यादवको घर भारत बिहारको छपरा जिल्लामा हो। उनी बाबुआमासँगै करिब १ महिनाअघि विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर आइन्।

बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादव छोरी चाँदनीलाई नलिइ भारतस्थित घर फर्किए। तर, चाँदनी मामाघरमा पनि देखिइनन्। एकाएक बेपत्ता भइन्। बाबुआमा मात्रै फर्किएको देखेका छिमेकीले चाँदनीलाई मामाघरमा नदेखेको निकै दिन भइसकेको थियो।

त्यसअघि पनि बेलाबखत उनी मामाघर आइरहन्थिन्। मामाघर भएको स्थानका छरछिमेकीले चाँदनीलाई राम्ररी चिन्छन्। चाँदनीलाई नलिइ बाबुआमा मात्रै घर फर्किएको र उनी पनि मामाघरमा नदेखिएपछि स्थानीयले शंका गरे।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मामाघर आएकी बालिका ८–१० दिनदेखि नदेखिएको र गाउँमा बालिका हराएको हल्ला चलेपछि छिमेकीले शुक्रबार बिहान जानकारी गराए। त्यसलगत्तै डीएसपी जोशी नेतृत्वको टोलीले चाँदनीको मामाघर खानतलासी गर्दै सोधपुछ गर्न थाल्यो।

मामाली हजुरबुवा सरजुग मण्डललाई प्रहरीले नियन्त्रणमा लियो। उनले नातिनी यसअघि नै भारतस्थित घर गइसकेको बताए। त्यसपछि भारतको छपरामा रहेका बाबुआमासँग प्रहरीले ‘वाट्सएप’ मार्फत सम्पर्क गर्यो। बाबु लालमोहन र आमा राजकुमारीले छोरी चाँदनी मामलीमै रहेको बताए।

‘दुई पक्षको कुरा बाझिएपछि घटना झन् शंकास्पद बन्यो। थप सोधुपछ गर्दै गएपछि बाबुआमाले छोरी आफूहरुसँगै रहेको भनेर कुरा फेर्न थाले,’ डीएसपी जोशीले भने, ‘आमाले त मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो भनेर सोधिन्। निर्धक्कसाथ बोलिरहेका हजुरबुवाले वास्तविक कुरा खुलाउनै चाहेनन्।’

मामली हजुरबुवा र बाबुआमाको कुरा बाझिएपछि त्यतिबेलै प्रहरी चाँदनीको हत्या भइसकेको निष्कर्षमा पुगेको थियो। अनि मामाघर वरपर थप खोजी सुरु गरियो।

घरदेखि १ सय २५ फिट दक्षिणतर्फको आँप र अम्बाको रुख मात्रै भएको जमिनमा केही समयअघि मात्रै खनेजस्तो देखिने आलो माटो भेटियो। वरपर तोरीको दाना झारिसकिएको बोटले छोपिएको थियो।

त्यहाँ खनेर हेर्दा चाँदनीको शव फेला परेको डीएसपी जोशीले बताए । हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव भेटिएको थियो। उनका अनुसार ४ फिट गहिरो खाल्डोमा घोप्टो पारेर सुताएको कपडासहितको शव फेला परेको हो।

शव निकालेर पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ। ‘चाँदनीको हत्या कहिले, कसरी र को को मिलेर गरेका हुन् भन्ने यकिन भइसकेको छैन। अनुसन्धान भइरहेको छ,’ डीएसपी जोशीले भने।

प्रहरी स्रोतका अनुसार मामली हजुरबुवा र उनका परिवार तथा बालिकाकै बाबुआमाको मिलेमतोमा हत्या गरेको हुनसक्छ। प्रहरीले सोधीखोजी गर्दा वास्तै नगर्नुले बाबु र आमाको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ।

घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, रामबाबु मण्डल, छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप सोधपुछ एवं अनुसन्धान गरिरहेको छ।

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हत्या गरिएकी चाँदनीको भारतमै एक व्यक्तिसँग प्रेम सम्बन्ध थियो। ‘जात नमिल्ने’ भन्दै ती व्यक्तिसँग छुटाउन उनलाई बाबुआमाले मामाघर ल्याएको जानकारी प्रहरीले पाएको छ। मामाघर ल्याउनुको उद्देश्य झारफुक पनि थियो। चाँदनीका मामली हजुरबुवा सरजुग गाउँमा धामीझाँक्रीको काम गर्छन्।

‘चाँदनीलाई प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट छुटाउन मामाघर ल्याउने र धामी लगाउने योजना रहेछ। योजना अनुसारै बाबुआमाले मामाघर लिएर आएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो।

हत्यापछि गाडेको अवस्थामा बालिकाको शव भेटियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *