पाथीभरामा केबलकार निर्माणको विरोधमा यातायात बन्द
विराटनगर। प्रसिद्ध पाथीभरा धाम जान निर्माणाधीन केबलकारको विरोध गर्दै पहिचानवादी मोर्चाले आह्वान गरेको बन्दका कारण ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ। प्रहरीका अनुसार चारपांग्रे सवारी चलेका छैनन्। सवारी साधन बन्द हुँदा विभिन्न गन्तव्य जानुपर्ने यात्रीहरु समस्यामा परेका छन्।
सोमबार पाथीभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच झडप भएको थियो। प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए।
प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आज मंगलबारदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्द आह्वान गरेको हो।
यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार बन्द गराउँदै हिडेका पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदिप मादेनलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार बजार बन्द गराउँदै हिडेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
