‘मलामी बस’ को इन्धन सहयोग रोकिँदा समस्या
विराटनगर। विराटनगर महानगरपालिकाले ‘मलामी बस’ सेवाका लागि उपलब्ध गराउँदै आएको इन्धन सहयोग बन्द गरेपछि स्थानीय नागरिकहरू चिन्तित बनेका छन्। यो बस सेवा सञ्चालन गर्दै आएका करिम अन्सारीले महानगरको यो कदमप्रति गुनासो र गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
मलामी बस सेवा कुनै व्यक्ति, संस्था वा समूहको नाफाका लागि नभई समाजका सबै नागरिकको दुःखको घडीमा साथ दिन सञ्चालन गरिएको विशुद्ध सामाजिक सेवा भएको उनले स्पष्ट पारेका छन्।
मानिसको जीवनमा मृत्यु एउटा अकाट्य सत्य भएको र परिवारको सदस्य गुमाउँदा पीडित परिवार मानसिक, सामाजिक र आर्थिक रूपमा कठिन अवस्थामा हुने अन्सारीले उल्लेख गरे। यस्तो संवेदनशील समयमा मलामी बस सेवाले परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन सहजता मिलिरहेको उनको भनाइ छ।
विशेष गरी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारहरूका लागि यो सेवा अझ बढी महत्वपूर्ण र सहारा बन्दै आएको थियो। सामाजिक सेवाको वास्तविक उद्देश्य नै जनताको दुःखमा साथ दिनु भएकाले जनहितसँग प्रत्यक्ष जोडिएको यस्तो सेवामा महानगरको सहयोग निरन्तर हुनुपर्ने आम नागरिकको अपेक्षा छ।
अन्सारीले विराटनगर महानगरपालिका, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सम्पूर्ण सरोकारवालाहरूलाई मलामी बस सेवाको मर्म र महत्व बुझिदिन आग्रह गरेका छन्। जनताको करबाट सञ्चालन हुने स्थानीय सरकारले नागरिकको सुखमा मात्र नभएर दुःखको बेला पनि उत्तिकै साथ दिनुपर्ने धारणा उनले राखेका छन्।
मलामी बस सेवा कुनै राजनीतिक विषय नभएर विशुद्ध मानवता, संवेदना र सामाजिक उत्तरदायित्वसँग जोडिएको विषय भएको हुँदा यसलाई निरन्तर सञ्चालन गर्न सबै पक्षले सकारात्मक पहल गर्न आवश्यक रहेको अन्सारीले बताए। उनले महानगरपालिकासँग यस सेवाका लागि आवश्यक इन्धन तथा अन्य सहयोग पुनः उपलब्ध गराइदिन अनुरोध समेत गरेका छन्।
