राप्रपामा पहिरो: १८३ जनाले सामूहिक रूपमा छोडे पार्टी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ठूलो सांगठनिक संकट देखा परेको छ। पार्टीका महामन्त्री डा. धवलशमशेर राणा पक्षधर केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

राप्रपा परित्याग गर्नेहरूमा शीर्ष तहका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायण प्रसाद कोइराला लगायत छन्। यसरी सामूहिक राजीनामा बुझाउनेहरूमा केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला सदस्यहरू छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले पार्टी परित्यागको यो घोषणा पहिलो चरणको मात्र भएको जानकारी गराएको छ। पार्टीका मूल नेतृत्व अर्थात् अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो मूल नीति नै छोडेको आरोप राजीनामा दिनेहरूले लगाएका छन्। जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन हुन नसकेकाले बाध्य भएर अलग हुनुपरेको उनीहरूको भनाइ छ।

विशेषगरी केन्द्रीय कार्यसमितिलाई समेत कुनै जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति असन्तुष्ट पक्षले कडा आपत्ति जनाएको छ। नेतृत्वको वैचारिक विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलकै कारण राप्रपा जनताबाट दण्डित हुनुपरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीभित्र मौलाएको स्वेच्छाचारिताको नियमन गरेर जवाफदेहीता स्थापित गर्ने प्रयासहरू गर्दा उल्टै नेता तथा कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही गरिएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटक-पटक तुहाउन मूल अगुवा नै अग्रसर भएको तर संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता नगरिएको आरोप समेत नेतृत्वमाथि लगाइएको छ। जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सबै नामेट पार्ने मनोवृत्ति नेतृत्वमा हाबी भएको हुँदा अब पार्टीमा बसिरहनुको औचित्य नरहेको विज्ञप्तिमा लेखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *