तराईमा गर्मी बढ्दै, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं। मौसममा आएको बदलावसँगै देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। पश्चिमी भूभागनजिक उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पहाडी भेगमा पानी पर्ने संकेत देखिए पनि तराई क्षेत्रमा भने चर्को गर्मीले जनजीवन प्रभावित बन्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तराईका अधिकांश क्षेत्रमा अहिले मौसम मुख्यतः सफा रहेकाले घामको राप बढ्ने अनुमान गरिएको छ।
हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताए।
रातको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
