क्यानाडाको तालमा हराइरहेका नेपाली विद्यार्थी मृत भेटिए
साभारः नेपाल टच
काठमाडौँ। क्यानाडाको अन्टारियोमा रहेको ह्युरोन तालमा दुई हप्ताअघि भएको डुङ्गा दुर्घटनामा परेर हराइरहेका नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। अन्टारियो प्रान्तीय प्रहरीले यो जानकारी दिएको हो।
मे २९ मा उनको मृत शरीर ताल किनारको पोर्ट फ्र्याङ्क्स क्षेत्रमा फेला परेको प्रहरीले विज्ञप्ति जारी गर्दै जनाएको हो। ‘पोर्ट फ्र्याङ्क्स क्षेत्रमा फेला परेको शव भिक्टोरिया डेका दिन पाइनरी पार्क क्षेत्रबाट बेपत्ता भएका २२ वर्षीय नेपाली युवककै भएको पुष्टि भएको छ’, प्रहरीले भनेको छ।
प्रहरीका अनुसार गत मे २९ को दिउँसो करिब २ः३० बजे पोर्ट फ्र्याङ्क्स क्षेत्रको किनारमा शव फेला परेको खबर आएपछि आपतकालीन टोली त्यहाँ पुगेको थियो। उक्त स्थान पाइनरी पार्कभन्दा करिब १० किलोमिटर पश्चिममा पर्छ।
प्रहरीले चिफ कोरोनरको कार्यालय र अन्टारियो फरेन्सिक प्याथोलोजी सेवाको सहयोगमा शवको पहिचान गरिएको खुलाएको हो। मृतक २२ वर्षीय नेपाली नागरिक भएको र उनी नै मे १८ देखि हराइरहेका व्यक्ति भएको प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छ। उनीबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
लामो बिदाको समय र अत्यधिक गर्मीका कारण गत मे १८ भिक्टोरिया डेको दिउँसो लेक हुरोनको आकर्षक १० किलोमिटर लामो बलौटे किनारमा ठूलो संख्यामा मानिसहरू ओइरिएका थिए। सोही क्रममा पाइनरी पार्कको पानीमा एउटा र्याफ्ट (सानो डुङ्गा) संकटमा परेको भन्दै करिब ३ बजेतिर आपतकालीन टोलीले खबर प्राप्त गरेको थियो।
र्याफ्टमा सवार पाँच जनामध्ये दुई जना पौडी खेलेर सुरक्षित रूपमा किनारमा आएका थिए भने अन्य दुई जना र्याफ्टमै फर्किएका थिए। ती चारै जना सकुशल रहे पनि २२ वर्षीय नेपाली युवक भने पानीमा बेपत्ता भएको क्यानाडाबाट प्रकाशित हुने ‘नेपालटच’ अनलाइनले उल्लेख गरेको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले भनेको छ, ‘यस घटनाले सम्बन्धित व्यक्तिहरू, उनीहरूका प्रियजनहरू, उद्धारकर्मीहरू र समग्र समुदायमा पारेको प्रभावलाई प्रहरीले गहिरोसँग महसुस गरेको छ। खोजी कार्यका दौरान सर्वसाधारणले देखाएको धैर्यता र सहयोगका लागि हामी धन्यवाद ज्ञापन गर्दछौँ।’
