विदेशी सम्बन्धन प्राप्त कलेज नियमन गर्न नयाँ नियमावली आउँदै
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पसहरूलाई व्यवस्थित रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउन लागिएको जानकारी दिएका छन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजहरूका सन्दर्भमा चौतर्फी गुनासाहरू आएकाले सरकारले नियमनको तयारी थालेको स्पष्ट पारे।
शिक्षा मन्त्रालयले नयाँ नियमावलीको मस्यौदा तयार गरी राय र स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइसकेको मन्त्री पोखरेलले जानकारी दिए। ती मन्त्रालयहरूबाट आवश्यक सुझाव र स्वीकृति प्राप्त भएलगत्तै मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने उनको भनाइ छ।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू हालसम्म प्रभावकारी रूपमा नियमन हुन नसकेको स्वीकार गर्दै मन्त्री पोखरेलले अब आउने नियमावलीले ती कमजोरीहरूलाई सुधार्ने दाबी गरे।
मन्त्री पोखरेलका अनुसार नयाँ नियमावलीले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजहरूलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा तिनीहरूको नियमनको ढाँचा कस्तो हुने भन्ने विषय पूर्ण रूपमा स्पष्ट गर्नेछ।
नेपाली विश्वविद्यालय र कलेजहरू कडा नियमनको दायरामा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेकाले यो कदम चाल्नुपरेको उनले स्पष्ट पारे। यस नियमावलीले स्वदेशी र विदेशी दुवै प्रकारका शिक्षण संस्थालाई समान र व्यवस्थित दायरामा ल्याउने विश्वास गरिएको छ।
सोही कार्यक्रममा शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि शिक्षक दरबन्दी मिलानको कार्यलाई पनि अगाडि बढाइसकिएको जानकारी दिए। लामो समयदेखि थाती रहेको दरबन्दी मिलानको समस्यालाई समाधान गरी विद्यालयहरूमा आवश्यकताअनुसार शिक्षक परिचालन गरिने उनको भनाइ छ।
