चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ
पीडित बालकको उपचार गराउने क्रममा आफन्त।
विराटनगर । अंक र अक्षर लेख्न नसकेको निहुँमा चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथरको फिदिम नगरपालिका-१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई शिक्षिका सेन्दाङले लेख्न नजानेको भन्दै कुटपिट गरेकी थिइन् । कुटपिटबाट बालकको ढाडभरि नीलडाम र चोट लागेको छ ।
शिक्षिका सेन्दाङविरुद्ध पीडित बालककी आमाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको पाँचथर प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णले बताए ।
प्रहरीले शिक्षिका उपर ‘बालबालिकासम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । आइतबार पाँचथर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ ।
घटनापछि घाइते बालकलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल भर्ना गरिएको थियो ।
उपचारपछि अवस्था सामान्य भएपछि आइतबार बालकलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको डीएसपी कर्णले बताए । घटनाको जानकारी प्राप्त हुनसाथ पुगेको प्रहरी टोलीले बालकको ढाडमा नीलडाम भेटाएको थियो ।
पीडितकी आमाका अनुसार स्कुलबाट फर्केपछि बालकले सुरुमा केही नभने पनि अर्को दिन स्कुल जान मानेका थिएनन् । केरकार गर्दा ढाड पोल्यो र दुख्यो भनेपछि कपडा खोलेर हेर्दा नीलडाम देखिएको र जेठ १ गते अस्पताल भर्ना गरिएको उनले बताइन् ।
अरू साथीहरूले लेख्न जानेको तर आफूले लेख्न नजानेपछि मिसले कुटेको कुरा बालकले आमालाई सुनाएका थिए ।
