सगरमाथा चुचुरोमा सशस्त्र प्रहरीका दुई महिला
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेर संगठनभित्र नयाँ इतिहास रचेका छन् ।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आइतबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।
आरोहणका क्रममा कार्की बिहान १०:२० बजे र शेर्पा बिहान ११:५५ बजे सगरमाथाको शिखरमा पुगेका थिए । सशस्त्र प्रहरी संगठनका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी बनेका छन् भने महिला कर्मचारीका रूपमा यो पहिलो सफल आरोहण हो ।
रामेछापकी कार्की र इलामकी शेर्पा दुवै अनुभवी आरोही हुन् । उनीहरूले यसअघि चुलु फार इष्ट र लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका थिए ।
यसका साथै कार्की राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत हुन् । उनीहरूको यो ऐतिहासिक सफलताले संगठनभित्र महिलाहरूको क्षमता, नेतृत्व र सहभागितालाई थप ऊर्जा र प्रेरणा मिल्ने सशस्त्र प्रहरीले जनाएको छ ।
