‘पदीय दायित्व’ बाट किन भाग्दैछन् बालेन ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद् र जनताप्रति उत्तरदायी बन्न आग्रह गरे। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले संसदीय लोकतन्त्रमा संसद्को गरिमा उच्च हुने र प्रधानमन्त्रीले संसद्लाई छल्न नहुने बताए।

संसदीय पद्धतिमा राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रम सरकारको भए पनि सारमा त्यो प्रधानमन्त्रीकै अवधारणा हुने भट्टराईको भनाइ छ। उनले संसद्मा उठेका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्रीले नै दिनुपर्ने तर्क गरे। “प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनु भनेको छलफलमा भाग लिने र उठेका सवाललाई स्पष्ट पार्नु हो, यसलाई प्रधानमन्त्रीले आफ्नो अनिवार्य कर्तव्यका रूपमा बुझ्नुपर्छ,” भट्टराईले उल्लेख गरे।

प्रधानमन्त्री शाह आफ्नो संवैधानिक र पदीय दायित्वबाट भाग्न खोजेको आशंका गर्दै भट्टराईले युवा प्रधानमन्त्रीलाई संसदीय अभ्यासले किन आकर्षण नगरेको भनी प्रश्न गरे। संसदीय व्यवस्था भएका देशहरूमा प्रधानमन्त्रीले विशेष घोषणा, सम्बोधन वा विदेश भ्रमणबारे संसद्मार्फत नै जानकारी दिने प्रचलन रहेको उनले स्मरण गराए। प्रक्रिया मिचेर वा छलेर हिँड्ने कुरा लोकतान्त्रिक अभ्यासले स्वीकार नगर्ने भट्टराईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *