दुई दिने बिदाः फेरियो विद्यालयको कार्यतालिका
फाइल तस्बिर
काठमाडौँ। सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिपत्र जारी गर्दै विद्यालयको पठनपाठन र कार्यघण्टा मिलाउन निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को गत चैत्र २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउन यो परिपत्र जारी गरिएको हो । केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयहरूलाई पठाएको निर्देशनमा पाठ्यक्रमले तोकेको कार्यघण्टा नघट्ने गरी शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।
नयाँ व्यवस्थाअनुसार विद्यालयहरूमा अब दैनिक १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याउनुपर्नेछ । सोमबारदेखि शुक्रबारसम्म पूरा समय कक्षा सञ्चालन गर्नुपर्ने नियम बनाइएको छ । हिउँदे र बर्से बिदाको कुल अवधि भने साविकको ४५ दिनबाट घटाएर ३० दिनमा झारिएको छ ।
आन्तरिक मूल्याङ्कनका कार्यहरू पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न र अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्त्यमा १२ दिन मात्र प्रयोग गर्न केन्द्रले निर्देशन दिएको छ । शुक्रबारको दिनलाई समुदाय, परिवार र प्रविधिसँग जोडेर प्रयोगात्मक तथा परियोजना कार्यमा केन्द्रित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसका लागि शिक्षक र विद्यालयले पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध सहजीकरण पुस्तिकाको सहयोग लिन सक्नेछन् । स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटेर स्थानीय तह र विद्यालय आफैँले पनि परियोजना कार्यहरू निर्माण गरी कार्यान्वयन गर्न सक्ने परिपत्रमा उल्लेख छ ।
