एसईईको नतिजा आजै सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ विवरण

काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ। ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ का अनुसार नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि अहिले बोर्डको बैठक बसिरहेको छ।

परीक्षा नियन्त्रण कार्यालयकी सूचना अधिकारी लक्ष्मी मरासिनीले केही घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिइन्। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विभिन्न डिजिटल माध्यमबाट आफ्नो विवरण हेर्न सक्नेछन्।

नतिजा हेर्ने तरिकाहरू:

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत सहजै हेर्न सकिने प्रबन्ध मिलाइएको छ। नेपाल टेलिकमको १६०० मा कल गरेर वा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिनेछ। साथै, जानकी टेक्नोलोजिजको ३५००१ र एम्बिसन गुरुको ३१०६१ मा एसएमएस गरेर पनि आफ्नो नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।

वेबसाइटबाट नतिजा हेर्न चाहनेहरूले परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम र ईकान्तिपुर लगायतका आधिकारिक पोर्टलहरू प्रयोग गर्न सक्नेछन्। नतिजा प्रकाशन भएको केही समयपछि यी माध्यमहरूबाट मार्कसिटसहितको विवरण उपलब्ध हुनेछ।

एसईई परीक्षा १९ चैतदेखि सुरु भएर २९ चैतमा सम्पन्न भएको थियो । विगतमा परीक्षा सम्पन्न भएको लगभग तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यस पटक शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिना भित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए।

सोही अनुरूप बोर्डले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको हो। सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने प्रबन्ध मिलाइएको थियो।

वेबसाइटबाट मार्कसिट हेर्ने तरिका

विस्तृत नतिजा र मार्कसिटका लागि परीक्षार्थीले बोर्डको आधिकारिक वेबसाइटहरू www.see.gov.nphttps://neb.gov.np/ मा लगइन गर्न सक्नेछन्। यस्तै नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेसन्सको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com र खल्ती एपमार्फत पनि नतिजा हेर्न सकिनेछ।

यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका वेबसाइटहरूलाई पनि नतिजा प्रकाशनको अनुमति दिइएको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यमबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *