बजेट अधिवेशन आजदेखि: राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ। सङ्घीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी पूरा भएको छ। संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४:०० बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको कार्यदिशा सार्वजनिक गर्नेछन्।

संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही बमोजिम राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए। सचिवालयले दुवै सदनका सदस्यहरूलाई अपराह्न ३:४५ बजेभन्दा अगाडि नै बैठक कक्षमा उपस्थित हुन अनुरोध गरेको छ।

संयुक्त बैठक बस्नुअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन्। प्रतिनिधिसभाको बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी प्राप्त पत्रहरू पढेर सुनाउने कार्यसूची छ। यस्तै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन र प्रतिनिधिसभा नियमावलीको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गरिनेछ।

यस अधिवेशनको पहिलो बैठकमा सरकारले विभिन्न आठवटा महत्त्वपूर्ण अध्यादेशहरू पनि सदनमा पेस गर्दैछ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था र संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी संशोधन अध्यादेश लगायत छन्। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आगामी जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *