झापामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर झापामा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज आइतबार बिहानको खानामा जङ्गली च्याउको परिकार खाँदा बिरामी परेका हुन् ।

जङ्गलबाट ल्याएको च्याउ खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । बिरामी हुनेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास र आठ जना बालबालिका छन् ।

बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरेपछि ९ जनालाई थप उपचारका लागि दमकस्थित बाल अस्पताल पठाइएको खड्काले जानकारी दिए । बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जङ्गली च्याउ विषाक्त हुन सक्ने र ज्यान जाने जोखिम रहने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

केही समयअघि उदयपुरमा पनि विषालु च्याउ खाएर एक दर्जनभन्दा बढी स्थानीय बिरामी परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *