सिद्धिचरण राजमार्ग अवरुद्ध
उदयपुर। उदयपुरको कटारी नगरपालिका-१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। वैशाख २६ गतेको बेमौसमी वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्याएपछि शनिबारदेखि यातायात सेवा ठप्प भएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीले सडक अवरोध गरेपछि सिद्धिचरण राजमार्ग भएर चल्ने सवारी साधनहरू बीचैमा रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहे पनि तत्काल सञ्चालनमा आउन कठिन देखिएको छ।
यसैबीच, सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै विपी राजमार्गमा समेत कडाइ गरिएको छ। काभ्रेपलाञ्चोकदेखि सिन्धुलीको खुर्कोट-नेपालथोक हुँदै कटुन्जेबेँसी चल्ने सडक खण्डमा वैशाख २१ गतेदेखि नै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
अर्को आदेश नभएसम्मका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सो खण्डमा गाडी चलाउन नपाइने प्रहरीले जनाएको छ।
बाढी र सडक अवरोधका कारण यात्रा गर्दा विशेष सावधानी अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।
