रास्वपा सांसदलाई ‘माननीय’ सम्बोधन प्रयोग नगर्न निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई लेटर प्याड र कार्ड लगायतका कागजातमा एकरूपता ल्याउन निर्देशन दिएको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकले आफ्ना कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन नगर्न सांसदहरूलाई स्पष्ट निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा सांसदहरूलाई अझै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै विज्ञ मेन्टर र सल्लाहकारहरूको सहयोग लिन तथा सुझावहरू ग्रहण गर्न सुझाव दिइएको छ।

यसैगरी, आगामी निर्वाचनका लागि उपयुक्त उम्मेदवार छनोट र प्रशिक्षणका लागि वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ को अभ्यास सुरु हुने भएको छ।

यस प्रक्रियालाई मध्यनजर गर्दै कुनै पनि सांसदले आगामी निर्वाचनको टिकटका सम्बन्धमा कसैलाई पनि प्रतिबद्धता नजनाउन पार्टीले सचेत गराएको छ। निर्देशनविपरीत गलत अभ्यास गरेमा कारबाही गर्ने चेतावनी समेत रास्वपाले दिएको छ।

केही समयअघि रास्वपा सांसद विश्वराज पोखरेलले आफूलाई ‘माननीय’ भनेर स्वागत नगरेको भन्दै एक विद्यालयका प्रधानाध्यापकलाई हप्काएको भिडियो सार्वजनिक भएपछि पार्टीले यस्तो कडा कदम चालेको बुझिन्छ।

यस निर्णयले जनप्रतिनिधिहरूमा हुनुपर्ने शालीनता र सादगीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *