सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढ्यो

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरको निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको हो।

विभागका निर्देशक मणि भुसालले मन्त्रीको निर्देशनमा यात्रुवाहक र ढुवानी दुवै सवारीका लागि नयाँ भाडादर लागू गरिएको बताए।

पछिल्लो समय इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण भाडा समायोजन गर्नुपरेको विभागले जनाएको छ। यसअघि भाडा समायोजन गर्दा डिजेलको मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल २३५ रुपैयाँ ८३ पैसा पुगेको छ।

यो अघिल्लो मूल्यको तुलनामा ३०.४१ प्रतिशतको वृद्धि हो। इन्धनमा प्रतिलिटर ५५ रुपैयाँ बढेपछि यातायात व्यवसायीहरूले भाडा बढाउन निरन्तर दबाब दिँदै आएका थिए।

यसअघि गत चैत २५ गते मात्र सरकारले भाडा समायोजन गरेको थियो। त्यसबेला यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत र मालवाहकमा २१.६८ प्रतिशतसम्म भाडा बढाइएको थियो।

विभागले वैशाख ९ गते नै मन्त्रालयलाई ९ देखि १४ प्रतिशतसम्म भाडा बढाउन सिफारिस गरेको भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले तत्कालका लागि ५ प्रतिशतले मात्र वृद्धि गर्ने निर्णयमा स्वीकृति दिएका हुन्।

नयाँ भाडादर आजैदेखि कार्यान्वयनमा आउने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *