दुई दिन बिदा : पाठ्यक्रम पूरा गर्न हिउँदे-वर्षे बिदा कटौती

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय र शैक्षिक सत्र १५ दिन ढिला सुरु भएपछि उत्पन्न समस्या समाधान गर्न शिक्षा मन्त्रालयले नयाँ योजना अघि सारेको छ ।

विद्यालय खुल्ने दिन घटेर पाठ्यक्रम समयमै नसकिने जोखिम बढेपछि सरकारले वर्षे तथा हिउँदे बिदा कटौती गर्ने तयारी गरेको हो । शिक्षा नियमावलीअनुसार वर्षभरि २ सय २० दिन विद्यालय खुल्नुपर्नेमा दुई दिन बिदाको निर्णयले अब विद्यालय खुल्ने समय १ सय ५४ दिनमा खुम्चिने देखिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको योजनाअनुसार हिउँदे र वर्षे बिदाका १५ दिन पढाइ सञ्चालन गरिनेछ भने बाँकी अवधि परियोजनामा आधारित शिक्षण सिकाइबाट पाठ्यभार पूरा गरिनेछ । यो योजनालाई अब शिक्षामन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अन्तिम रूप दिनेछ ।

मंगलबार वैशाख १५ गतेदेखि विद्यालय भर्ना अभियान सुरु भई २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने कार्यतालिका भए पनि धेरैजसो स्थानीय तहले यसअघि नै कक्षा सुरु गरिसकेका छन् । तीन साता पढाइ ढिलो भएको र सातामा दुई दिन बिदा थपिएकाले कोर्स पूरा गर्न कठिन हुने शिक्षकहरूले बताएका छन् ।

यसपटकदेखि पाठ्यक्रमको निर्दिष्ट लक्ष्य पूरा गर्न दैनिक घरव्यवहार, सामाजिक परिवेश र ज्ञान–सिपसँग जोड्ने गरी परियोजना कार्यलाई अनिवार्य गर्ने तयारी छ ।

यसले विद्यार्थीको सिकाइ र गुणस्तरमा सकारात्मक प्रभाव पार्ने पाठ्यक्रम विकास केन्द्रको विश्वास छ । गत वर्ष पनि शिक्षक आन्दोलन, जेनजी आन्दोलन र निर्वाचनका कारण पठनपाठन प्रभावित भएको सन्दर्भमा सरकारले विद्यार्थीको गुणस्तरमा असर नपर्ने गरी यो ठोस योजना ल्याउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *