विद्यालयको सामाजिक पाठ्यक्रम : तथ्य र सान्दर्भिकतामाथि विज्ञको प्रश्न

काठमाडौँ । विद्यालय तहका पाठ्यक्रम र त्यसमा रहेका विषयवस्तुबारे बेलाबेला बहस हुने गरेको छ। पाठ्यपुस्तकमा भेटिने तथ्यगत गल्तीले विद्यार्थीले के पढिरहेका छन् भन्ने त देखाउँछ नै, तर विज्ञहरूले अहिले तथ्यगत त्रुटि मात्र नभएर पाठ्यक्रमको सान्दर्भिकता र वैज्ञानिकतामाथि नै गम्भीर प्रश्न उठाएका छन्। विशेषगरी सामाजिक विषयले लिएको उद्देश्य प्राप्त गर्न केही पुराना विषयवस्तु हटाउन र नयाँ सामग्री थप्नुपर्ने विज्ञहरूको ठहर छ।

समाजको सामान्य परिचय मात्र नराखी देशको राजनीतिक र आर्थिक गन्तव्य पहिल्याउन सक्ने सामग्री समावेश गर्नुपर्ने आवाज उठ्न थालेको छ। हाम्रा पाठ्यपुस्तक कति वैज्ञानिक र सान्दर्भिक छन् तथा यसले लक्षित सक्षमता हासिल गर्न सघाउँछन् कि सघाउँदैनन् भन्नेबारे कक्षा १० को सामाजिक अध्ययन विषयको पुस्तकलाई आधार मानेर विभिन्न विज्ञ र सरोकारवालासँग समीक्षा गरिएको थियो। जसमा अधिकांशको मत यो विषयलाई थप वैज्ञानिकीकरण गर्नुपर्ने देखिएको छ।

कक्षा १० को सामाजिक अध्ययनले समाजले स्वीकार गर्ने आचरण र कार्य संस्कृतिको अवलम्बन गर्न सक्ने नागरिक तयार पार्ने लक्ष्य राखेको छ। तर, अहिलेको विषयवस्तुबाट मात्र यो उद्देश्य पूरा नहुने बरु यसमा व्यापक परिमार्जन आवश्यक रहेको विज्ञहरूले बताए। स्वावलम्बी र देशभक्त नागरिक बनाउने विषयवस्तु किताबमा धेरै रहेकाले त्यसलाई छोट्याएर समसामयिक चुनौती सामना गर्न सक्ने र परिवर्तनमुखी सामग्री समेट्नुपर्ने सुझाव जेन-जी अभियन्ता तथा त्रिविका स्वर्ण पदक विजेताहरूले दिए।

सामाजिक विषयमा समेटिएका जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय घटनाक्रम, युद्ध, जनसांख्यिक इतिहास र पञ्चवर्षीय योजनाजस्ता विषयवस्तु धेरै लामा भएकाले तिनलाई संक्षिप्त बनाउन सुझाव दिइएको छ। यस्तै भाषा, जातजाति तथा समुदायका विषय परिचयात्मक मात्र भएकाले त्यसको सट्टा जघन्य अपराध, भ्रष्टाचार र खराब नैतिक आचरणका विषयमा कक्षाकोठामै गहन रूपमा सिकाउनुपर्ने धारणा विज्ञहरूको छ।

दैनिक जीवनसँग जोडिने डिजिटल साक्षरता, साइबर सुरक्षा र व्यक्तिगत विकासका कुरा पाठ्यक्रममा थप्नुपर्ने देखिएको छ। त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरिरहेका राजनीतिज्ञ सुरेन्द्र पाण्डेले विद्यार्थीलाई देशको आर्थिक विकासक्रमसँग जोड्न कामप्रतिको सम्मान र कर तिर्ने बानीको विकास गराउने विषयवस्तु समेट्नुपर्ने बताए। उनले बसाइँसराइजस्ता जल्दोबल्दो मुद्दा पनि पाठ्यपुस्तकमा समावेश गर्न सुझाव दिए।

प्रत्येक वर्ष एसईईमा धेरै विद्यार्थीको सामाजिक अध्ययन विषयको नतिजा तुलनात्मक रूपमा कमजोर देखिने गरेको छ। यसले विद्यार्थीको असफलता मात्र नभई पाठ्यक्रम आफ्नो उद्देश्य प्राप्तिमा कतै असफल त भइरहेको छैन भन्ने प्रश्न समेत उब्जाएको छ। यही असफलताले देशको राजनीतिक, सामाजिक र आर्थिक गन्तव्यमा असर पुर्‍याउने जोखिम देखिएकाले शिक्षाविद्, सरकार र सरोकारवालाले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *