सुकुम्बासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा सार्न निर्देशन

काठमाडौँ । सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विद्यार्थीहरूको सुरक्षा र सहजीकरणका लागि ६ बुँदे सर्कुलर जारी गरेका छन्।

मन्त्रीको निर्देशनअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका कारण मर्कामा परेका विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित विद्यालयको समायोजन र समन्वयलाई प्रभावकारी बनाउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ।

केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीलाई नजिकैका विद्यालयमा भर्ना र अध्ययनको व्यवस्था मिलाउन सहजीकरण गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

यसैगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको स्थानमा वैकल्पिक व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ।

सुकुम्बासी बस्तीका विद्यार्थी वा विद्यालयसँग सम्बन्धित कुनै समस्या, गुनासो वा सुझाव भएमा तत्काल केन्द्रमा जानकारी गराउन समेत मन्त्रालयले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *