आफ्नो नाममा भ्रामक सन्देश फैलाइएकोमा सुहाङको आपत्ति

इलाम। इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत सञ्चारकर्मी र सर्वसाधारणलाई सम्बोधन गर्दै सांसद नेम्वाङले विभिन्न फेसबुक पेजहरूमा आफ्नो भनाइ भन्दै अनधिकृत डिजाइन र पोस्टरहरू सेयर भइरहेकोमा स्पष्ट पारेका हुन्। उनले ती सामग्रीहरूमा व्यक्त विचार आफ्नो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल नखाने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको बैठक स्थगन भएपछि हाल इलाममै रहेर स्थानीय काम र अभियानमा केन्द्रित रहेका नेम्वाङले विकसित राजनीतिक घटनाक्रमलाई आफूले सधैँ दीर्घकालीन परिणामको कसीमा राखेर वस्तुगत विश्लेषण गर्ने गरेको बताएका छन्।

उनले कुनै पनि विषयलाई पूर्वनिर्धारित आग्रहका आधारमा नभई त्यसले दिने सकारात्मक नतिजाका आधारमा हेर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे।

गलत सन्देश प्रवाह हुने गरी सिर्जना गरिएका त्यस्ता भ्रामक पोस्टहरू सेयर नगरिदिन र त्यसैका आधारमा कुनै धारणा नबनाइदिन उनले सचेत नागरिक र सञ्चार माध्यमलाई आग्रह गरेका छन्।

जिम्मेवार सञ्चार माध्यमबाट यस्तो कार्य नभए पनि विभिन्न अनलाइन र फेसबुक पेजहरूबाट भ्रम फैलाउने काम भइरहेको भन्दै उनले त्यस्ता कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *