प्रधानाध्यापकलाई हप्काउने सांसदले माफी मागे

काठमाडौँ। आफ्नै ‘असभ्य’ अभिव्यक्तिका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले माफी मागेका छन्। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकास्थित चण्डेश्वरी माविका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै हप्कीदप्कै गर्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।

सांसद पोखरेलले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि स्पष्टीकरण दिँदै यथार्थ भिडियो सार्वजनिक नभएको र सन्दर्भ काँटछाँट गरेर देखाइएको बताए। यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्य मात्र सार्वजनिक हुँदा घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको उनले उल्लेख गरे। तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा उनले खेद प्रकट गरेका छन्।

सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने कुरा स्वीकार गर्दै उनले आफ्नो कमजोरी महसुस गरेका छन्। कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि आफूले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्ने उनको भनाइ छ।

पोखरेलले आफू विद्यालयमा आउँदा स्वागतका लागि बाहिर नआएको भन्दै प्रधानाध्यापकलाई हप्काएका थिए। त्यस क्रममा उनले आफू विशिष्ट श्रेणीको अवकाशप्राप्त कर्मचारी र माननीय भएको भन्दै प्रधानाध्यापक कर्मचारी भएकाले निस्कनुपर्ने बताएका थिए। उक्त घटनाको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *