प्रधानाध्यापकलाई हप्कीदप्कीबारे पुन : ‘ठाउँको ठाउँ बर्खास्त गर्थेँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई ‘स्वागत गर्न नआएको’ भन्दै थर्काएको भिडियो सार्वजनिक भएपछि पूर्वशिक्षामन्त्री एवं सांसद महावीर पुनले कडा प्रतिक्रिया दिएका छन्।

उक्त भिडियोमा सांसद पोखरेलले आफू विद्यालय पुग्दा हेडमास्टर गेटसम्म नआएको भन्दै “म आउँदा निस्किनुपर्छ, तपाईं कर्मचारी हो” भन्दै रवाफ देखाएको देखिन्छ। सोही भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै पुनले सांसदको यस्तो व्यवहार पदको गरिमा विपरीत भएको बताएका हुन्।

महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन्, “यिनी कुन पार्टीका हुन् कुन्नि? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ।” उनले सांसद भनेको जनताको नोकर भएको स्मरण गराउँदै ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्नेमा जोड दिएका छन्।

पुनले अगाडि लेखेका छन्, “बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ। सांसद पदको बेइज्जत नै गर्‍यो त।”

सांसद पोखरेलको उक्त अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ। जनप्रतिनिधिले कर्मचारी र नागरिकप्रति देखाउने यस्तो व्यवहारले लोकतान्त्रिक संस्कारकै खिल्ली उडाएको भन्दै धेरैले आपत्ति जनाएका छन्। रास्वपाका तर्फबाट भने यसबारे आधिकारिक धारणा आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *