हप्तामा दुई दिन बिदा : शिक्षक महासङ्घले अघि सार्यो दुई विकल्प
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारको हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयलाई समर्थन गर्दै त्यसबाट विद्यालयको पठनपाठनमा पर्न सक्ने असर र कार्यघण्टा व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शुक्रबार आह्वान जारी गर्दै थप एक दिन बिदा हुँदा राष्ट्रिय पाठ्यक्रम प्रारूपले तोकेको वार्षिक १०२४ कार्यघण्टा कसरी पूरा गर्ने भन्ने विषयमा सघन छलफल भइरहेको बताएका छन्। बिदाका कारण कम हुन जाने कार्यदिनलाई सन्तुलनमा राख्न महासङ्घले मुख्यतया दुईवटा विकल्प अघि सारेको छ।
महासङ्घले अघि सारेका विकल्पहरू:
१. पाठ्यक्रम प्रारूप परिमार्जन
नयाँ क्यालेन्डरअनुसार हुन आउने कार्यदिनसँग मेल खाने गरी वार्षिक कार्यघण्टालाई समायोजन गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप नै परिमार्जन गर्ने।
२. बिदा समायोजन र घरबिदाको व्यवस्था
निजामती सेवामा जस्तै शिक्षक-कर्मचारीका लागि पनि वार्षिक ३० दिन घरबिदा (१८० दिनसम्म सञ्चय हुने गरी) को व्यवस्था गर्ने। यसरी हुने व्यवस्थापनबाट अपुग हुन आउने कार्यदिनलाई वर्षे वा हिउँदे बिदाबाट कटौती गरी समायोजन गर्ने।
अध्यक्ष सुवेदीले शिक्षक-कर्मचारीहरूको चाहना र विद्यालय शिक्षाको गुणस्तर दुवैलाई मध्यनजर गर्दै उचित विकल्पको खोजी भइरहेको बताएका छन्।
उनले यी विकल्पहरूका बारेमा देशभरका शिक्षक तथा शिक्षाकर्मी साथीहरूलाई रचनात्मक सुझाव र सल्लाह दिन समेत आग्रह गरेका छन्।
सरकारको दुई दिने बिदाको निर्णय कार्यान्वयनमा जाँदा विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरमा देखिने चुनौती समाधान गर्न महासङ्घले सरोकारवाला पक्षहरूसँग छलफललाई तीव्रता दिएको बताएको छ।

उत्तम विकप्लहरु:
१) तत्काल निर्णय फिर्ता लिने र सोच बिचार गरेर पापाठयक्रम परिमार्जन गरि कार्यघण्टा घटाउन अनि अर्को शैशिक शत्रबाट लागु गर्ने ।
२) हालको शैशिक शत्रबाट नै लागु गर्ने भए बर्षे वा हिउदे बिदा बाट वा दशै बिदाबाट नपुगेको कार्य दिन समायोजन गर्ने ।
बर्दिबास न पा ले अाईतबारदेखि सुचारुगर्न निर्देशन दियाे।