दमकमा अन्तर्राष्ट्रिय स्तरको कुकिङ प्रतिस्पर्धा र खाना महोत्सव हुने
दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता बढाउन र मौलिक खानपानलाई विश्वबजारमा चिनाउने उद्देश्यले झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ।
दमकमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी २०८३ जेठ १ र २ गते बृहत् कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
नेपाली सेफ सोसाइटी, इन्टरनेशनल सेफ सोसाइटी र युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा यो महोत्सव हुन लागेको हो।
“नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत ठूलो सघाउ पुर्याउने विश्वास लिइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै इन्टरनेशनल सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन यो महोत्सव एउटा महत्वपूर्ण आधार बन्ने बताए।
दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न रैथाने तथा आधुनिक परिकारका स्टलहरू रहनेछन् भने उत्कृष्ट सेफहरूलाई पुरस्कृत समेत गरिनेछ।
महोत्सवका लागि विश्वका ४५ भन्दा बढी देशमा कार्यरत नेपाली सेफहरू दमक आउने क्रम सुरु भइसकेको महासचिव दीपक कार्कीले जानकारी दिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय सेफहरूको समेत सहभागिता रहने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।
