विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य गर्न निर्देशन
काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरूलाई पत्राचार गर्दै यो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनेको हो।
सरकार र यातायात व्यवसायीबीच २०६५ फागुन २० गते भएको सम्झौता अनुसार विद्यार्थीहरूले भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ।
तर पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई यो छुट नदिएको भन्दै ‘हेलो सरकार’ र विभागमा धेरै उजुरीहरू परेका थिए। धेरै संख्यामा गुनासो आएपछि विभागले व्यवसायीहरूलाई पुनः ताकेता गरेको हो।
विभागका निर्देशक गणेशमान सिं राईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई पत्र लेख्दै विद्यार्थी सहुलियतलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन्।
सरकारले तोकेको यो नियम पालना नगर्ने सवारी साधनलाई कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।
