यी हुन् मन्त्रिपरिषद्ले गरेको मुख्य निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिको सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र काठमाडौँका भूवन कुमार दाहाल रहेका छन्।
बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यसका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकहरू पनि संसद्मा पेश गर्न सरकारले बाटो खोलेको छ।
त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त पदहरूमा पनि सरकारले नियुक्ति र मनोनयन गरेको छ। समितिको अध्यक्ष पदमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय भएको छ।
