तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज मंगलबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। उनले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोलिलो पदार्थ सेवन गर्न सुझाव दिएकी छन्।

लुम्बिनी र सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीमा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ। यस्तै अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरमा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ।

तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने विभागले जनाएको छ। बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *