स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग अनिवार्य
काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै यस विषयमा तत्काल अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउन भनेको छ।
पछिल्लो समय केही निजी प्रकाशकहरूले कानुनको उल्लङ्घन गर्दै बढी मूल्य तोकेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नलिई पाठ्यपुस्तक बिक्री गरिरहेको गुनासो आएपछि केन्द्रले यो कदम चालेको हो।
नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त आर्थिक बोझ नदिन केन्द्रले स्पष्ट पारेको छ।
त्यस्तै, विद्यालयहरूले आफैँले वा विद्यालयभित्रैबाट पोसाक, पाठ्यपुस्तक र स्टेशनरी सामग्री बिक्री-वितरण गर्ने गरेको पाइएकाले यस्ता कार्य तत्काल रोक्न परिपत्रमा उल्लेख छ।
केन्द्रले स्थानीय तहहरूसँग समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न र नियम उल्लङ्घन गर्ने प्रकाशक वा विद्यालयलाई कानुनी दायरामा ल्याई सोको जानकारी केन्द्रमा पठाउन समेत निर्देशन दिएको छ।
