विश्वविद्यालय र स्वास्थ्य संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे तीन घण्टा लामो छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।

कुनै पनि बहानामा विश्वविद्यालय र प्रतिष्ठानहरूमा राजनीति गर्न नहुने अडान राख्दै प्रधानमन्त्री शाहले दलीय संरचनाहरू हटाउने निर्णय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे।

छलफलका क्रममा उपकुलपतिहरूले पछिल्लो समय ‘जेनजी’ आन्दोलन र चुनावपछि विद्यार्थीहरूमा राजनीतिक गतिविधि सुस्त हुँदै गएको बताए। उनीहरूले यस्ता राजनीतिक संगठनहरू हटाउन पहल भइरहेको जानकारी समेत गराएका थिए।

उपकुलपतिहरूले जग्गा प्राप्ति, जनशक्ति अभाव र स्रोतसाधन व्यवस्थापनमा देखिएका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारी सहयोगको अपेक्षा गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले यी सबै समस्या समाधान हुने गरी सरकारले काम सुरु गरिसकेको बताए। शैक्षिक संस्थाहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई गुणस्तर सुधार्न सरकारले थप कदम चाल्ने संकेत उनले दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *