तराईमा अत्यधिक गर्मी : सतर्क रहन आग्रह

काठमाडौँ। तराई क्षेत्रमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुगेको जनाएको छ।

त्यस्तै मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि तापक्रम ३८ डिग्री सेल्सियसको आसपास पुगेको छ। विभागका अनुसार आगामी तीन दिनसम्म यी क्षेत्रमा अत्यधिक गर्मी कायम रहनेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर (लु) चल्ने सम्भावना देखिएको छ।

तातो हावाका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विभागले सचेत गराएको छ। गर्मीबाट जोगिन दिउँसोको समयमा घरभित्रै बस्न, चर्को घाममा बाहिर ननिस्कन र निस्कनै परे टाउको छोप्न सुझाव दिइएको छ।

यसैगरी हल्का सुती कपडा लगाउन, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि विभागले आग्रह गरेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र बाहिर काम गर्ने श्रमिकहरूलाई थप सावधानी अपनाउन विज्ञहरूले सुझाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *