खाडी मुलुकका लागि स्थगित श्रम स्वीकृति पुनः सुचारु
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो।
मन्त्रालयको यस निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
व्यक्तिगत, संस्थागत र वैधानिकीकरण गरी सबै प्रक्रियाबाट यी देश जान चाहने श्रमिकले अब अनुमति पाउनेछन्।
इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले गत फागुन १७ गते ती मुलुकमा जान अस्थायी रोक लगाएको थियो।
अहिले परिस्थितिमा सुधार आएको र श्रमिकहरूको मागलाई ध्यानमा राख्दै पुनः श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ।
अन्य देशको हकमा पूर्ण रूपमा खुला गरिए पनि इराकको सन्दर्भमा भने मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय बमोजिम नै हुने गरी व्यवस्था मिलाइएको छ।
