पशुपतिनगर र काँकडभिट्टा नाका ७२ घण्टा बन्द हुने

विराटनगर। भारतको पश्चिम बंगालमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ।

सोमबार साँझ ६ बजेदेखि सुरु हुने बन्द वैशाख १० गते राति १२ बजेसम्म कायम रहनेछ। भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा सिल गरिएको हो।

यस अवधिमा पैदल यात्रु र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द रहनेछ। तर, अत्यावश्यक सेवा, बिरामी बोकेका सवारी र विदेशी पर्यटकका लागि भने आवश्यक कागजातका आधारमा आउजाउ गर्न सहजीकरण गरिने बताइएको छ। त्यस्तै, सड्ने प्रकृतिका खाद्यान्न बोकेका सवारीलाई पनि विशेष अनुमति दिइनेछ।

अर्कोतर्फ, भद्रपुर-गलगलिया नाका भने पूर्ण रूपमा बन्द नभए पनि सुरक्षा जाँचमा निकै कडाइ गरिएको छ। भद्रपुरबाट नेपाल प्रवेश गर्न पाइने भए पनि भारततर्फ जान भने कडाइ गरिनेछ।

पश्चिम बंगालका १६ जिल्लामा हुने मतदानका लागि भारतीय निर्वाचन आयोगले सुरक्षा व्यवस्था कडा पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *