८ महिनामा भएका दुर्घटनामा ३०८ जनाले गुमाए ज्यान
फाइल तस्बिर
विराटनगर। कोशी प्रदेशमा पछिल्लो समय सडक दुर्घटनाको संख्यासँगै मानवीय क्षति पनि चिन्ताजनक रूपमा बढ्दै गएको पाइएको छ। पछिल्ला तीन आर्थिक वर्षको प्रहरी तथ्याङ्कले प्रदेशको सडक सुरक्षा निकै चुनौतीपूर्ण बन्दै गएको देखाएको हो।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशभर ३ हजार ४ सय ६३ सडक दुर्घटना भएका थिए, जसमा ३ सय ७१ जनाले ज्यान गुमाएका थिए । सो वर्ष २ सय ५८ जना गम्भीर र ५ हजार ७ सय ५० जना सामान्य घाइते भएका थिए ।
त्यसको अर्को वर्ष दुर्घटनाको दर झन् उकालो लाग्यो । आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार ६ सय २६ दुर्घटना हुँदा ४ सय ५२ जनाको मृत्यु भयो भने ३ सय ७१ गम्भीर र ५ हजार ८ सय ३० जना सामान्य घाइते भए ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवस्था झनै डरलाग्दो देखिएको छ । यस आठ महिनाको अवधिमै ४ हजार २ सय ९० दुर्घटना भइसकेका छन्, जसमा ३ सय ८ जनाको मृत्यु भएको छ । यस अवधिमा ४ सय ७५ जना गम्भीर घाइते र ६ हजार ४ सय ५५ जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न देखिएका छन् । त्यसपछि कार, बस, ट्रकरट्याङ्कर, जिप र माइक्रोबसहरू बढी दुर्घटनामा पर्ने गरेका छन् । सडक विभाग, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी आयोजना र स्थानीय तहबीच समन्वय नहुँदा सडक खन्ने र अलपत्र छाड्ने प्रवृत्तिले पूर्वाधार जोखिमपूर्ण बन्दै गएको छ ।
