संगठन खारेजी तयारीविरुद्ध विद्यार्थी आन्दोलित
काठमाडौँ। सरकारले विद्यार्थी युनियन खारेज गर्ने तयारी गरेपछि विभिन्न विद्यार्थी सङ्गठनहरूले आन्दोलन घोषणा गरेका छन्। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी सङ्गठनले आजैदेखि लागू हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी सङ्गठन खारेज गर्ने घोषणा गरेपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन्। सार्वजनिक कार्यक्रम अनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गरिनेछ भने चैत ३० गतेदेखि २०८३ साल वैशाख ४ गतेसम्म देशभरका कलेजहरूमा छलफल र अन्तरक्रिया चलाइनेछ। वैशाख ७ देखि ९ गतेसम्म कलेजहरूमा पर्चा पम्प्लेट, सडक नाटक र हस्ताक्षर सङ्कलन जस्ता प्रचारका काम गरिने अनेरास्ववियुका अध्यक्ष दीपक धामीले बताए।
आन्दोलनकै क्रममा वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिहरूलाई र वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ। वैशाख १५ गते काठमाडौँको बालुवाटार सहित देशभर कापी–कलम प्रदर्शन गर्ने विद्यार्थीहरूको तयारी छ।
संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनसँगै ७ बुँदे माग पनि अघि सारेका छन्। उनीहरूले विश्वविद्यालयमा साइबर सुरक्षा नीति, त्रिविको उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। साथै कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग समेत विद्यार्थीहरूले राखेका छन्।
