वैशाख १५ बाट भर्ना, २१ बाट पठनपाठन

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८३ को भर्ना अभियान र सार्वजनिक बिदाका सम्बन्धमा नयाँ कार्ययोजना सार्वजनिक गरेको छ।

केन्द्रले देशभरका सबै स्थानीय तह र विद्यालयहरूलाई पत्र पठाउँदै परिवर्तित कार्यतालिका अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुनेछ। सोही दिनदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने केन्द्रको तयारी छ।

चैत २३ गतेदेखि नै लागू हुने गरी सरकारी कार्यालय तथा शिक्षण संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई समेत कार्यान्वयन गर्न भनिएको छ।

केन्द्रले वैशाख २ गतेदेखि नै विभिन्न प्रवर्द्धनात्मक र रचनात्मक शैक्षिक कार्यहरू सुरु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ। जस अन्तर्गत शैक्षिक सत्रको कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तयार गर्ने, विद्यालय सुधार योजना अद्यावधिक गर्ने, शिक्षकको पेसागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना बनाउने जस्ता पाँच बुँदे कार्यसूची प्रस्तुत गरिएको छ।

निर्देशनमा परिवर्तित बिदा र शैक्षिक सत्रको समयसीमालाई ध्यानमा राखेर नयाँ शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न र आवश्यक समन्वय एवं सहजीकरण गरिदिन केन्द्रले स्थानीय तहहरूलाई अनुरोध गरेको छ। यो निर्णयले शैक्षिक क्यालेन्डरमा परेको प्रभावलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *