ओली र लेखक हाजिर जमानीमा रिहा हुँदै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले उनीहरू दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो।
सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने गरी’ ओली र लेखकलाई हिरासतमुक्त गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राख्दै आएको थियो।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभएमा हिरासतमुक्त गरेरै थप प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो। अदालतले तोकेको तेस्रो म्याद बुधबारसम्म मात्रै भएकाले सर्वोच्चको आदेश पालना गर्दै उनीहरूलाई छाडिएको हो।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले चैत २५ पछि हिरासतमुक्त गर्न आदेश दिएको थियो। सोही आदेश बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरेर उनीहरूलाई थप अनुसन्धान र तहकिकातका लागि बाहिरै बस्न दिने निर्णय भएको छ।
गौरीबहादुर कार्की आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्ले सो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उनीहरू पक्राउ परेका थिए। स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पताल र लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको गणमा राखिएको थियो।
