देशका विभिन्न भागमा वर्षा र चट्याङ, सतर्क रहन आग्रह

काठमाडौँ । नेपालको पूर्वी तथा मध्य भागमा आज बिहीबार बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ।

विशेषगरी कोशी प्रदेशका केही स्थान र मधेश तथा बागमती प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने यो मौसमी प्रणाली अहिले पूर्वी दिशातिर सर्ने क्रममा रहेको छ।

महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ लगायतका पूर्वी भेगतिर अघि बढिरहेको छ।

ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। पहाडी भू-भागमा वर्षासँगै चट्याङको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यो फेरबदल आएको हो। आज दिनभरजसो पहाडी क्षेत्रका केही स्थानमा मौसम प्रतिकूल रहने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *