शैक्षिक संस्थामा विद्यार्थीमाथि दुर्व्यवहार भयो ? यहाँ गुनासो गर्नुस्
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषण विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउने भएको छ ।
शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीमाथि हुने उत्पीडन रोक्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् ।
विद्यार्थीहरूले भोग्नुपरेका दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले प्रत्यक्ष रूपमा गुनासो सुन्ने र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउने तयारी गरेको छ ।
यसका लागि मन्त्रालयले अनलाइन लिंक उपलब्ध गराउँदै विद्यार्थीहरूलाई निर्धक्क भएर आफ्ना समस्या राख्न आह्वान गरेको छ ।
गुनासो गर्ने वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता समेत मन्त्री पोखरेलले व्यक्त गरेका छन् ।
सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको अभियानमा सक्रिय सहभागी हुन आग्रह गर्दै मन्त्रालयले अब शैक्षिक क्षेत्रमा हुने शोषणलाई कुनै पनि हालतमा छुट नदिने प्रष्ट पारेको छ ।
